बझाङ – बझाङ जिल्लाको बुंगल नगरपालिका–८ मा अविरल वर्षासँगै गएको पहिरोका कारण विद्यालय, सडक र अन्य संरचनामा ठूलो क्षति पुगेको छ।
सत्य माध्यमिक विद्यालयमा पहिरोले विद्यालयको छात्रावास पूर्ण रूपमा ध्वस्त बनाएको छ भने निर्माणाधीन खेलमैदान र देवाल पनि नराम्ररी प्रभावित भएका छन्। विद्यालयका प्रधानाध्यापक खड्क बोहराका अनुसार ६२ मिटर लम्बाइको निर्माणाधीन देवालमध्ये ४४ मिटर पहिरोले बगाएको छ। अब जम्मा १८ मिटर मात्र बाँकी रहेको जनाइएको छ।
उहाँका अनुसार विद्यालयको भौतिक संरचनामा करिब ८ लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। यस्तै, सोही वडामा पर्ने ऐडी गाउँमा पनि पहिरोको असर परेको छ। जज्लली–दास्पाला जोड्ने ग्रामीण सडकखण्डमा हालिएको होम पाइप पहिरोले पुरिएको छ। स्थानीय दिपक बोहराका अनुसार उक्त सडकखण्डमा आवागमन अवरुद्ध भएको छ र पानी आपूर्ति पनि प्रभावित भएको छ।
स्थानीय बासिन्दाहरूले शीघ्र पुर्ननिर्माण र पहिरो प्रभावित क्षेत्रको व्यवस्थापनको माग गरेका छन्। अविरल वर्षाका कारण थप जोखिम बढ्न सक्ने भएकाले तत्कालको हस्तक्षेप आवश्यक देखिएको छ। हालसम्बन्धित निकायहरूले क्षतिको विवरण संकलन गर्दै राहत तथा पुर्नस्थापनाको पहल गरिरहेका छन्।

























