बझाङ : खप्तडछान्ना गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा प्रगतिशील युवा समाज बझाङको सहजीकरणमा सञ्चालित कृषि र पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना अन्तर्गत बाख्राको पहिलो पुस्ता हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
यस कार्यक्रमअन्तर्गत अघिल्लो चरणमा परियोजनाबाट प्राप्त माउ बाख्राबाट जन्मिएका २१ वटा पाठा समूहका अन्य महिलाहरुलाई उपहारस्वरूप प्रदान गरिएको हो । यस कार्यले समुदायमा महिलाबीच सहयोग, साझेदारी र परस्पर सहयोगको संस्कृतिको प्रवद्र्धन गरेको छ ।
परियोजना संयोजक विरेन्द्र सिंहले भने, ‘भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ति सिकाऔँ’ भन्ने अभियानलाई आत्मसात गरेर ग्रामीण महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य राखेका छौं ।’ पशुपालनलाई आम्दानीको स्रोत बनाउँदै महिलालाई आर्थिक रूपले सक्षम बनाउने प्रयास अन्तर्गत बाख्रा हस्तान्तरण कार्यक्रमको थालनी गरिएको संयोजक सिंहले बताए ।
खप्तडछान्ना गाउँपालिका अध्यक्ष उतम रोकायाले परियोजनाले पालिका भित्रका युवा तथा महिलाहरूलाई स्वरोजगारको बाटोमा डोर्याएको र यस्तो कार्यक्रमले सामाजिक रूपान्तरणमा समेत ठूलो भूमिका खेलिरहेको बताए ।
उनले भने, ‘पशुपालनजस्ता स्थानीय स्रोतमा आधारित कार्यक्रमहरू महिलाको जीवनमा मात्र होइन, समग्र समुदायको समृद्धिको महत्वपूर्ण आधार बन्न सक्छन् । हामी यस्ता योजनालाई संस्थागत गर्दै थप प्रभावकारी बनाउँदै जानेछौं ।’
कार्यक्रममा सहभागी खप्तडछान्ना गाउँपालिका–५ की महिला शान्ति सार्कीले भनिन् ‘मैले माउ बाख्रा पाएको केही महिनामै दुई वटा पाठा उत्पादन गर्न सफल भएँ । अहिले ती मध्ये एक पाठा अर्को महिलालाई दिएकी छु । अब मेरो पालो आयो, अरूको पालो सुरु भयो भन्ने महसुसले खुशी लागिरहेको छ । यसबाट हामी आत्मनिर्भर हुने छौ ।’
परियोजनाले समुदायमा आयआर्जन र महिला सशक्तीकरणलाई जोड दिँदै स्थानीय स्रोत र सीपको भरपूर उपयोग गर्दै महिलाबीचको आपसी सम्बन्धलाई मजबुत बनाउँदै लैजाने उद्देश्य राखेको छ ।
यस कार्यक्रमले महिला उद्यमशीलता, पशुपालन व्यवसाय र सामाजिक सहकार्यलाई एकैसाथ जोडेर ग्रामीण समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ ।
























