महोत्सवको नाममा बझाङका ६ पालिकाले उडाए १ करोड

Image

सत्यराज सिंह : बझाङका ६ वटा स्थानीय तहले महोत्सव र आर्थिक सहायता खर्चको नाममा कानुनविपरीत एक वर्षमै १ करोड ५ लाख २ हजार ७ सय ३ रुपैयाँ खर्च गरेका छन् ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदनले यी खर्चलाई ‘अनुत्पादक र कानुनविपरीत’ ठहर गरेको छ ।

प्रतिवेदन अनुसार बुंगल नगरपालिका, दुर्गाथली, केदारस्युँ, साइपाल, थलारा र तलकोट गाउँपालिकाले महोत्सव, धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमका नाममा आन्तरिक स्रोतलाई समेत बेवास्ता गर्दै मनपरी खर्च गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले यस्ता कार्यक्रम तथा व्यक्तिगत सहायता शीर्षकमा रकम खर्च गर्न निषेध गरे पनि पालिकाहरूले ऐनविपरीत रकम वितरण गरेका छन् । महालेखाका अनुसार यस्ता खर्चहरू स्पष्ट रूपमा आर्थिक अनुशासन विपरीत छन् ।

उक्त खर्चको सुचीमा दुर्गाथली गाउँपालिका सबैभन्दा अगाडि र बुंगल सबै भन्दा पछाडी देखिएको छ । महालेखाको प्रतिवेदन अनुसार दुर्गाथली गाउँपालिकाले २ जनालाई छात्रवृत्ति र ३ वटा महोत्सवको नाममा २९ लाख ९९ हजार २५० रुपैयाँ खर्च गरेको छ ।

यस्तै तलकोट गाउँपालिकाले १३ वटा उत्सव र कार्यक्रमका लागि २८ लाख ६६ हजार ६४० रुपैयाँ खर्च गरेको छ ।
केदारस्युँ गाउँपालिकाले १६ वटा उत्सव तथा १२ जनालाई आर्थिक सहायता दिँदै २० लाख २१ हजार ५३५ रुपैयाँ खर्च गरेको पाइएको छ ।

यस्तै साइपाल गाउँपालिकाले ३८ वटा उत्सव तथा धार्मिक–सांस्कृतिक कार्यक्रमका लागि १३ लाख ७१ हजार ५०० रुपैयाँ खर्च गरेको छ ।

थलारा गाउँपालिकाले २ वटा कार्यक्रममा ७ लाख रुपैयाँ खर्च गरेको छ, जुन आन्तरिक आम्दानीको २२.६४ प्रतिशत हो ।

र बुंगल नगरपालिकाले २ वटा महोत्सवमा ५ लाख ४३ हजार ७७८ रुपैयाँ खर्च गरेको छ, जुन पालिकाको आन्तरिक आयको ८.४९ प्रतिशत हो ।

महालेखाको प्रतिवेदनमा यस्तो प्रकारको खर्चले स्थानीय सरकारको पारदर्शिता र वित्तीय अनुशासनमाथि प्रश्न उठाएको उल्लेख गरिएको छ ।

नीति विपरीत गरिएको यस्ता अनुत्पादक खर्च तत्काल नियन्त्रणमा ल्याउनुपर्ने र आगामी वर्षमा यस्ता कार्य दोहोरिन नदिनुपर्ने महालेखाको सुझाव दिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन