राष्ट्रिय युवा संघ नेपालको हालै पाेखरामा सम्पन्न १०औं महाधिवेशनबाट बझाङका युवा नेता संसार खड्का केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् । अन्य दावी नपरेपछि उनी सहज रूपमा केन्द्रीय तहमा प्रवेश पाउन सफल भएका हुन् ।
राष्ट्रिय युवा संघ नेपालजस्तो देशभर सशक्त संरचना भएको युवा संगठनको नेतृत्व तहमा बझाङबाट प्रतिनिधित्व हुनु जिल्लाका लागि गौरवको विषय भएको स्थानीय राजनीतिक विश्लेषकहरू बताउँछन् ।
नेतृत्वमा पुगेपछि बझाङका युवाको क्षमता र समस्या राष्ट्रिय एजेन्डामा लैजाने प्रतिवद्धता खड्काले जनाएका छन्। ´संगठनलाई सशक्त बनाउँदै बझाङको विकासका सवालहरू युवा नेतृत्वको प्राथमिकतामा रहनेछ ।` उनले बताए।
विगत दुई दशकदेखि नेकपा एमालेको सक्रिय राजनीतिमा सक्रिय रहँदै आएका खड्का युवा संघ बझाङका विभिन्न तहमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी जिल्ला कमिटी सदस्य, उपसचिव, सचिव, संयोजक हुँदै दुई कार्यकाल अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । हालै सम्पन्न नेकपा एमाले बझाङको जिल्ला अधिवेशनबाट पनि उनी निर्वाचित जिल्ला समिति सदस्य बनेका थिए । केन्द्रिय सदस्य बनाउन नेता अमित महरको विशेष भुमिका रहेको खड्का बताउछन् ।
























