बझाङ। बाल हिंसा तथा हानिकारक प्रथाविरुद्ध बालबालिका आफैं जागरुक हुन थालेका छन् । जयपृथ्वी नगरपालिका वडा नं ११ को वडास्तरीय बाल संजालले आइतबार सदरमुकाम चैनपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी बाल अधिकार र सुरक्षाबारे चेतना कार्यक्रम गरेको हो । जयपृथ्वी नगरपालिका वडा नं ११ का बाल संजाल अध्यक्ष प्रमोद जोशीले विभिन्न कार्यक्रम मार्फत बालबालिकामा अधिकारबारे स्पष्ट ज्ञान र सामाजिक कुरीतिविरुद्ध प्रतिवाद गर्ने हिम्मत पैदा भएको बताए । उनले भने,‘अब हामी चुप लाग्ने छैनौं, हिंसाविरुद्ध आँफैं बोल्छौं’
कार्यक्रममा वल्डभिजन इन्टरनेश्नल नेपाल र प्रगतिशिल युवासमाजबाट संचालित बाल संरक्षण परियोजना अधिकृत विनोद थापाले बाल हिंसा र हानिकारक प्रथाका असरबारे कुरा राख्दै समुदायस्तरमा बालबालिकाको अधिकार सुरक्षित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । जयपृथ्वी नगरपालिका वडा नं ११ का कार्यवाहक वडाध्यक्ष पदम जोशीले बालमैत्री नीति कार्यान्वयनमा स्थानीय सरकार प्रतिबद्ध रहेको जानकारी दिए । उनले भने, ‘बाल संरक्षणका लागि योजनागत रूपमा अघि बढ्दैछौं’
प्रहरी सहायक निरिक्षक धरमसिंह धामीले बाल हिंसा तथा हानिकारक प्रथा सम्बन्धी कानुनी प्रावधानबारे जानकारी दिँदै कुनैै पनि किसिमको हिंसा वा अमानवीय व्यवहारमा संलग्न जो–कोहीलाई कानुनको दायरामा ल्याउने बताए ।
बालमैत्री स्थानीय शासन अभियानकर्ता वीरेन्द्र खड्काले बालबालिकाको विकासमा समाजका सबै तहको भूमिका महत्वपूर्ण हुने बताएका छन् । यस्तै उद्योग वाणिज्य संघ बझाङका उपाध्यक्ष शंकर रसाइलीले सरकारले भन्दा निजी क्षेत्र बालबालिकाको संरक्षणको पक्षमा अग्रसर भएको बताए । सहभागीहरूले बाल अधिकारको संरक्षणका लागि नियमित रुपमा यस्ता कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम प्रगतिशील युवा समाजको सहयोग र जयपृथ्वी नगरपालिका ११ को वडास्तरिय बालसंजालको आयोजनामा सम्पन्न भएको हो ।
























