बझाङ : प्रगतिशिल युवा समाज चैनपुरले वर्ल्ड भिजन इन्टरनेशल नेपालको साझेदारीमा बझाङका विभिन्न स्थानीय तहमा कोरोना महामारीबाट प्रभावित समुदाय, क्वारेन्टाइनमा बसिरहेकाहरु र फ्रन्ट लाइनमा काम गरिरहेकाहरुलाई राहत प्रदान गरेको छ ।
प्रगतिशिल युवा समाजले वर्ल्ड भिजन इन्टरनेशल नेपालको साझेदारीमा लकडाउन सुरु भए यता विभिन्न चरणमा गरी जयपृथ्वी नगरपालिकाका दलित, एकल महिला, अपाङ्ग, असहाय तथा गरिब ७ सय ६४ घरधुरीलाई राहत स्वरुप चामल, दाल, चिनी, तेल, अण्डा, आलु, प्याज, नुन जस्ता खाद्य वितरण गरेको छ । यस्तै केदारस्युँ गाउँपालिकाका पनि ६ सय ४३ दलित, एकल महिला, अपाङ्ग, असहाय तथा गरिब घरधुरीलाई राहत वितरण गरेको छ । यसमध्ये २ सय ५० घरधुरीलाई भने राहत वितरण गर्ने कार्य भइरेहको छ ।
जिल्लामा विभिन्न समाज सुधारका क्षेत्रमा काम गर्दै आएको प्रगतिशिल युवा समाजले बालबालिका क्षेत्रमा विगत केही महिना यता काम गर्दै वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँग सहकार्य गरी यी दुई स्थानीय तहमा स्थापना गरिएका क्वारेन्टाइन बसिरहेकाहरुलाई पनि राहत प्रदान गरेको जनाएको छ । जयपृथ्वी र केदारस्युँका विभिन्न क्वारेन्टाइन व्यवस्थापनका क्रममा चामल, दाल, चिनि,तेल, अण्डा, आलु, प्याज, नुन जस्ता खाद्य पदार्थ पनि ठूलो परिमाणमा वितरण गरिएको प्रगतिशिल युवा समाजका संयोजक यज्ञराज जोशीले बताए ।
यस्तै दुवै संस्थाको सहकार्यमा पहिलो चरणमा जिल्ला विपद व्यवस्थापन समिति ३० थान, केदारस्युँ गाउँपालिका, जयपृथ्वी नगरपालिका र छबिसपाथिभेरा गाउँपालिकालाई ५ ⁄ ५ थान पिपिइ सेट पहिलो चरणमा वितरण गरिएको संयोजक जाेशीले बताए ।
माहामारीको संकट थपिदै जादा ती सामाग्री पनि अपुग देखिएपछि पुनः दोस्रो चरणमा जिल्ला विपद व्यवस्थापन समिति २० थान, जयपृथ्वी नगरपालिकालाई १५ थान, केदारस्युँ गाउँपालिकालाई २० थान पिपिइ सेट वितरण गरिएको संयोजक जोशीको भनाई छ ।