डिपिएस नेपाल द्वारा राष्ट्रिय भलिबल खेलाडी गरिमा बोहोरा सम्मानित

Image

बझाङ – डुम्राकोट प्रगतिशील समाज डिपिएस नेपाल द्वारा आयोजित “प्रथम डिपिएस नेपाल खुला अन्तर-बिद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८१” को अवसरमा राष्ट्रिय भलिबल खेलाडी गरिमा बोहोरालाई विशेष सम्मान प्रदान गरिएको छ। नेपाल प्रहरीको एपिएफ भलिबल टिमकी खेलाडी गरिमा बोहोरा ले नेपाली भलिबल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको र बझाङ जिल्ला को नाम उच्च बनाउँदै आइरहेकी छिन्।

डिपिएस नेपाल का अध्यक्ष कपिल बिष्ट सरकार ले गरिमा बोहोरालाई सम्मान गर्दै भन्नुभयो, “गरिमा बोहोरा जस्ता खेलाडीहरू हाम्रो समाजका प्रेरणाका स्रोत हुन्। उनले खेल क्षेत्रमै उत्कृष्टता देखाएर नेपाललाई गौरवान्वित बनाइरहेकी छिन्। डिपिएस नेपालले ले सधैं यस्ता प्रतिभाहरूलाई प्रोत्साहन गर्न निरन्तर काम गर्दै जानेछ। खेल र शिक्षाको समायोजनबाट मात्र समृद्ध समाज निर्माण गर्न सकिन्छ।”

कार्यक्रममा उपस्थित विभिन्न अतिथिहरूले गरिमा बोहोराको योगदानको प्रशंसा गर्दै नेपालमा खेलकुदको क्षेत्रमा अझै धेरै सम्भावना रहेको बताए। उनीहरूले स्थानीय स्तरबाट यस्ता खेलाडीहरूको पहिचान, प्रवर्द्धन र सहायताको खाँचो रहेकोमा जोड दिए।

गरिमा बोहोराले सम्मान ग्रहण गर्दै डिपिएस नेपाललाई धन्यवाद दिँदै भनिन्, मेरो यात्रा सजिलो थिएन, तर कडा मेहनत, परिवारको साथ, र प्रशिक्षकहरूको मार्गदर्शनले मलाई यहाँसम्म ल्यायो। खेलकुदमा भविष्य बनाउन चाहने युवाहरूलाई मेरो सुझाव यही हो कि निरन्तर मेहनत गरिरहने हो भने सफलता निश्चित छ।

डिपिएस नेपालले शिक्षा मात्र नभई खेलकुदको क्षेत्रमा पनि योगदान दिँदै आइरहेको छ। यसअघि पनि डिपिएस नेपालले विभिन्न खेल गतिविधिहरू, प्रशिक्षण कार्यक्रमहरू, र खेलाडीहरूलाई सहयोग पुर्याउने विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ। आगामी दिनहरूमा पनि खेलकुद प्रवर्द्धनका लागि यस्ता सम्मान कार्यक्रमहरूलाई निरन्तरता दिइने अध्यक्ष कपिल बिष्ट सरकारले बताए।

प्रतिक्रिया जनाउनुहाेस्