बझाङ – प्रेस चौतारी नेपाल बझाङ जिल्ला शाखाको कार्यालय २७औं स्थापना दिवसको अवसरमा उद्घाटन गरिएको छ। स्थापना दिवसको अवसर पारेर शाखाको कार्यालय मंगलबार सदरमुकाम चैनपुरमा स्थापना गरिएको हो।
सो कार्यालयको उद्घाटन नेकपा एमाले बझाङ जिल्ला अध्यक्ष दिलबहादुर भण्डारीले गर्नुभएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले सूचना प्रविधिको विकासले पत्रकारिता क्षेत्र सहज हुँदै गएको बताउनुभयो। उहाँले समाचार लेख्दा विषयवस्तुको गम्भीरता बुझी सत्य र तथ्यपूर्ण सूचना सम्प्रेषणमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। यसले पत्रकारको क्षमता अभिवृद्धि गर्ने र समग्रमा बझाङ जिल्लामा पत्रकारिताको विश्वसनीयता तथा प्रभावकारिता बढ्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम प्रेस चौतारी बझाङका नवनिर्वाचित अध्यक्ष सुरेश धामीको अध्यक्षतामा सम्पन्न भएको थियो। साथै, स्थापना दिवसकै अवसरमा कार्यालयमा बोर्ड राख्नुका साथै संगठनका गतिविधिबारे छलफल समेत गरिएको शाखा सचिव बचनराज जोशीले जानकारी दिनुभयो।
प्रेस चौतारी बझाङमा नयाँ कार्यसमिति चयन भएपछि तिव्र गतिमा आफ्ना गतिविधिहरू अघि बढाइरहेको जोशीले बताउनुभयो। अध्यक्ष धामीले अबदेखि प्रेस चौतारी नेपाल संस्थागत रूपमा अघि बढ्ने बताउँदै चौतारीमा आबद्ध सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा प्रेस चौतारीका सबै गतिविधि कार्यालयमार्फत सञ्चालन हुने जानकारी पनि दिनुभयो।
कार्यालय स्थापनासँगै झोलामा कार्यालय राख्ने परिपाटीको अन्त्य भएको धामीले बताउनुभयो। कार्यक्रममा नेकपा एमाले बझाङ जिल्ला अध्यक्ष भण्डारीसहित उपाध्यक्ष लालबहादुर विष्ट, सचिव नयन बोहरा, नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंह, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य बसन्त प्रताप सिंह लगायत विभिन्न संचारकर्मीहरूको उपस्थिति रहेको थियो।