धनगढी: कैलालीमा लागू गरिएको निषेधाज्ञालाई आज देखि खुकुलो पारिएको छ। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै निषेधाज्ञालाई खुकुलो बनाएका हुन्। यसअघि भदौ ४ गतेदेखि १९ गते मध्यरातिसम्म अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरिएकोमा आजदेखि ३१ भदौसम्म लागु हुने गरी खुकुलो पारेर निषेधाज्ञालाई निरन्तरता दिइएको हो।
प्रमुख जिल्ला अधिकारी बोहराले दिएको आदेश अनुसार ३१ गतेसम्म तोकिएका मापदण्ड पूरा गरेर जिल्लाभरी जोरबिजोर प्रणाली अनुसार सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्न पाईनेछ। सार्वजनिक सवारी साधनले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाईनेछ। सिटी रिक्सा र अटोको हकमा बढिमा दुई जना यात्रु राखेर सञ्चालन गर्न र्पाइनेछ। खाद्य वस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुधडेरी, कपडा पसल लगायतका व्यवसाय स्वास्थ्यका मापदण्ड पूरा गर्न सञ्चालन गर्न पाईने छ।
शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, फिटनेस सेन्टर, स्पा, सैलुन लगायतका सेवा तथा स्थलरुह सञ्चालन गर्न पाईने छैन्। होटल तथा रेष्टुराले भने होम डेलीभरी गर्नुपर्ने छ। व्यापार व्यवसाय विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने छ।
ठेलागाडा वा साईकलमा सञ्चालन हुने फलफूल र तरकारी बाहेक अन्य व्यापार व्यवसाय सञ्चालन गर्न पाईने छैन्। नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सास्कृतिक गतिविधिहरु सञ्चालन गर्न पनि रोक लगाईएको छ। सरकारी तथा सार्वजनिक कार्यालयहरुले आलोपालो गरी न्यूनतम संख्यामा कर्मचारी उपस्थित गराई स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गराई कार्यालय सञ्चालन गर्न पाउनेछन्। अन्य कर्मचारीलाई घरबाटै कार्य सम्पादन गर्ने व्यवस्था मिलाउन पनि आदेश दिईएको छ।
जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र यातायात कार्यालय जस्ता भीडभाड हुने कार्यालयले दैनिक प्रशासनिक कार्य बाहेकका अन्य सेवा सञ्चालन गर्न पाउने छैनन्। बैंक तथा वित्तिय संस्थाहरु सञ्चालनको हकमा सामाजिक दूरी कामय गराई भीडभाड नहुने गरी विहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन गर्न पाईने छ। उद्योगहरुले सुरक्षा मापदण्ड र स्वास्थ्य मापदण्डको पालन हुने गरी सञ्चालन गर्न पाईनेछ।