बझाङ : जयपृथ्वी नगरपालिका १० चैनपुरमा फार्मेसी सञ्चालन गर्दै आएका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बिहीबार उनको सम्पर्कमा आएका र वरिपरिकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको छ । नमुना स्वाब संकलन भइसकेपछि पनि ती स्वास्थ्यकमीले आफू कार्यरत फार्मेसीमा धेरैलाई चेकजाँच गरेको र आसपासका छिमेकीहरुको सम्पर्कमा आएको हुनसक्ने भन्दै २ सय ६ जनाको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको हो ।
जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखा संयोजक जनक सिंहका अनुसार संक्रमित स्वास्थ्यकर्मी सम्पर्कमा आएकाहरुसँगै चैनपुरका उद्योग व्यवसायी, होटेल व्यवसायी, मेडिकल सञ्चालक र सुरक्षाकर्मीहरु गरी २ सय ६ जनाको कन्ट्रयाक्ट ट्रेसिङ र नमुना स्वाब संकलन गरिएको छ । मंगलबार डडेल्धुरा अस्पतालमा भएको परिक्षणमा चैनपुरको एक मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो । योसँगै बझाङमा दुई जनामा समुदायस्तरको कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित स्वास्थ्यकर्मी केदारस्युँ गाउँपालिका ९ का २७ बर्षीया पुरुष हुन् । उनी अहिले जिल्ला अस्पतालको आईसोलेशनका बसेको डा. खड्का जानकारी दिए ।