बझाङ : बझाङको प्रसिद्ध धार्मिक तथा सांंस्कृतिक बिर्सती मेला भदौ १९ र २० गते भए पनि यस वर्ष भने नहुने भएको छ । दुर्गाथली र छबसिपाथिभेरा गाउँपालिकाको बिच भाग बिसौना बजारमा हरेक वर्ष भाद्र महिनाको १९ र २० गते लाग्दै आएको वर्सिती मेला यो वर्ष कोरोना महामारीका कारण नहुने भएको हो ।
बिर्सतीमा भदौ १९ गते ढाँका नाच र २० गते पूजाआरधना हुँदै आएको छ । कोरोना संक्रमण बढ्दै गएपछि समुदाय स्तरमा फैलने सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यो वर्ष मेला स्थगित गरेको दुर्गाथली–७ का वडाध्यक्ष ऐनबहादुर दौल्यालले जानकारी दिए।
गत शनिबार र आइतबार मात्रै दुर्गाथलीमा विभिन्न वडामा ठूलो मात्रामा कोरोना संक्रमित भेटिएका थिए । उनले एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले निर्देशन गरेका निति नियमको पालना गर्दै भिडभाड नगर्न नगराउन आग्रहसमेत गरेका छन् । विज्ञप्तीमा मन्दिरमा पूजा गर्दासमेत सामाजिक दूरी कायम गरी मास्कको प्रयोग गरेर गर्न गराउन उल्लेख गरिएको छ ।