सपना खाती, बझाङ ।
डिजिटल बजार र वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत दलित सहयोग समाज र दिगो विकास समाजको संयुक्त आयोजनामा यहीँ कार्तिक २२ गतेबाट सञ्चालन भएको ४ दिने डिजिटल बजार तथा वित्तीय साक्षरता सम्बन्धी तालिम आज आइतबार कैलालीको टिकापुरमा सम्पन्न भएको हो ।
तालिममा सहभागीहरुलाई डिजिटल बजार तथा वित्तीय साक्षरता सम्बन्धी ज्ञान प्रदान गरी, उनीहरुलाई व्यावसायिक अभिलेखिकरण र लेखाजोखा गर्न सक्षम बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
दिगो विकास समाजका अध्यक्ष श्री राम बहादुर सुनारको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा अतिथिमा वर्ल्ड भिजन ईन्टरनेशनल नेपालका सौगात शर्मा न्यौपाने र मंगल शाह रहनुभएको थियो भने प्रशिक्षकहरुमा दिगो विकास समाजका परियोजना संयोजक प्रभु ढकाल, दलित सहयोग समाजका परियोजना संयोजक रमेश माली, दिगो विकास समाजका प्रोग्राम अफिसर बिनोद शाह, र जगत भाटले प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रम दिगो विकास समाजका फिल्ड सहजकर्ता कमल खनालले सञ्चालन गर्नु भएको थियो।
उक्त तालिममा बझाङबाट ५ जना र कैलालीबाट १३ जना गरि जम्मा १७ जनाको सहभागीता रहेको थिए। यो तालिमले सहभागी किसानहरुलाई डिजिटल बजार र वित्तीय साक्षरतालाई सक्षम बनाउने अपेक्षा गरिएको छ।