बझाङ । बुंगल नगरपालिका वडा नम्बर ८ कफलसेरी टोलमा पखालाको लक्षण देखिएका २० जना बिरामीलाई नगरपालिकाको द्रुत प्रतिकार्य टोलीले घरमै गएर उपचार गरेको छ। कफलसेरी टोलका तीन परिवारका धेरैजसो सदस्य सहित उक्त टोलका २० जना बिरामी परेका थिए। एमबीबीएस डाक्टर सहितको टोलीले बुधबार ती बिरामीको टोलमै पुगेर उपचार गरेको हो।
पखालाबाट ग्रसित भएका २० जना बिरामीमध्ये ३ जना गम्भीर अवस्थामा, जलवियोजनको समस्याबाट प्रभावित थिए । नगरपालिकाको द्रुत प्रतिकार्य टोलीले टोलमै खटिएर बिरामीहरूको उपचार गर्नुका साथै स्थानीयलाई रोग रोकथामका उपायबारे सल्लाह र सुझावसमेत दिएको छ। बुंगल नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कलक बोहराका अनुसार यस्तो प्रत्यक्ष उपचारले रोग फैलिन नदिन र तत्कालै स्वास्थ्य सेवा दिन मद्दत पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया जनाउनुहाेस्
























