बझाङ। बझाङको बुंगल नगरपालिकामा आयोजना हुने वडा स्तरीय तेस्रो मेयर कप २०८१ टी ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक बुंगल नगरपालिका खेलकुद समितिले सोमबार विजेताले प्राप्त गर्ने ट्रफी सार्वजनिक गरेको हो । नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दिपावलीको अवसरमा आगामी कार्तिक ७ गते बुंगल नगरपालिका १ दहबगर खेलकुद मैदानमा हुने मेयर कपको बुंगल नगरपालिकाका कार्यवाहक नगरप्रमुख तथा वडा नम्बर ४ का वडा अध्यक्ष गणेश कार्कीले ट्रफी सार्वजनिक गरेका छन् ।
प्रतियोगितामा बुंगल नगरपालिका भित्रका खेलाडीहरूलाई मात्रै समावेश गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा १ वडा बाट दुई टीम गरी ११ वडाबाट २२ टिम सम्म सहभागि हुने अनुमान गरिएको आयोजकले बताएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समुहलाई ट्रफी मेडल र प्रमाणपत्र सहित ८१ हजार १ सय ८१ रुपैयाँ पुरस्कार प्रदान गरिने र पद्धतीय हुने समुहले ५१ हजार १ सय ५१ रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार उपलब्ध गराइने बुंगल नगरपालिका खेलकुद समितिका अध्यक्ष शेर बहादुर कुँवरले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको छ ।
उहाँले यस अघि सूचनामा प्रथम पुरस्कारमा २५ प्रतिशत कर कट्टी गरिने भनिएको भएपनि अब नेपाल सरकारको गत साउन १ गतेबाट लागू गरिएको आर्थिक ऐन २०८१ अनुसार नै कर नकाटेरै तोकिएको पुरस्कार रकम उपलब्ध गराइने बताउनुभयो । सरकारले जारी गरेको आर्थिक ऐन २०८१ को दफा ८८ को उपदफा २ को (क) मा पुरस्कार रकम पाँच लाख भन्दा बढी भएमा रकममा आकस्मिक लाभ कर लाग्ने भनिएको छ । सो ऐन अनुसार ५ लाख भन्दा कम रकमको पुरस्कार भएमा कर नकाटिने उल्लेख गरिएको छ । जस अनुसार क्रिकेट प्रतियोगितामा प्रथम हुने समुहलाई कार नकाटी नगद ८१ हजार १ सय ८१ रुपैयाँ पुरस्कार पुरै प्रदान गरिने आयोजकले जनाएको छ । साथै प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पुरा भएकोको र प्रतियोगिताको उद्घाटन गर्न प्रमुख अतिथीकाे रुपमा पूर्व खेलकुद राज्य मन्त्री नरेश बहादुर सिंह आउने भएका भएका छन् ।