सुरेश धामी , बझाङ । बुंगल नगरपालिकामा अस्थायी ट्राफिक प्रहरी कार्यालय स्थापना गरिएको छ । बुंगल नगरपालिका वडा नं ३ स्थित अस्थायी प्रहरी पोष्ट बिजगडामा कार्यालय रहने गरी अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको हो । दुर्घटना न्यूनीकरण र ट्राफिक नियम विपरति सञ्चालन गरिने सवारी साधनलाई नियमन गराउनको लागि ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको स्थायी प्रहरी पोष्ट बिजगडाका प्रहरी सहाय निरीक्षक कृष्णराज भट्टले जानकारी दिनुभयो।
बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीको पहलमा गृहमन्त्री रमेश लेखकको निर्देशन पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङको पत्र अनुसार ट्राफिक व्यवस्थापनका लागि बिजगडामा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको उहाँले बताउनुभयो । कार्यालयबाट सेवा प्रवाहका लागि पोष्टमा एकजना ट्राफिक सहायक हबलदार र एक जना जवान गरि दुईजना कर्मचारी खटाइएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्टको उद्घाटन बिहीबार आज गरिएको हो । बुंगल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गणेश कार्कीको प्रमुख आतिथ्यतामा स्थानीय यातायात व्यवसायी, शिक्षक व्यापारीहरूको उपस्थितिमा संन्देमुलक कार्यक्रम गरी ट्राफिक प्रहरी कार्यालयको स्थापना गरिएको हो ।
बिजगडामा ट्राफिक प्रहरीको उपस्थिति अनिवार्य थियो भन्दै सबैले सभ्य नागरिकको परिचय दिन ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिनुभएको छ । अधिकांश सवारी दुर्घटना साँघुरा सडकमा मादक पदार्थ सेवन गरेर तीब्र गतिमा चलाउनुले हुने भएकाले ट्राफिकको उपस्थितिले सो घटनामा कमी आउने विश्वास गरेको प्रहरी सहायक निरीक्षक भट्टले बताउनुभयो ।
बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले आफूले पहल गरी विजगडामा ट्राफिक प्रहरी खटाउन गृह मन्त्रालयमा माग गरेको र सोही बमोजिम बुंगल नगरपालिकामा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गर्न सफल भएको बताउनु भएको छ । उहाँले ट्राफिक प्रहरी पोष्ट व्यवस्थापनले बुंगल बिजगडा बागथला सडक खण्ड र नगरपालिका भित्रका ग्रामीण सडकहरूमा आवतजावत गर्ने सवारिसाधन चेकजाँच गर्न बजारमा हुने अव्यवस्थित ट्राफिक गतिविधि व्यवस्थापन गर्न सहज हुने बताउनु भएको छ । नगरपालिकामा ट्राफिक प्रहरीको उपस्थितिले हेलमेट नलगाउने, तोकेको सङ्ख्याभन्दा बढी सवारी बोक्ने, तीब्र गतिमा सबारीसाधन चलाउने, मापसे गरेर सवारी साधन चलाउने लगायतका गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ ।

























