बुंगल नगरपालिकाको सरकारी गाडी ट्राफिक कारबाहीमा !

Image

बझाङ । बुंगल नगरपालिकाको सरकारी गाडी ट्राफिक कारबाहीमा परेको छ । आज बिहीबार सार्वजनिक बिदाको दिन बिहानै नगरपालिकाको गाडी यात्रु बोक्न प्रयोग गरिएको भेटिएपछि ट्राफिक कारबाही गरिएको हो ।

बुंगल नगरपालिकाको सु. प. प्र.००१ झ ०५७९ नम्बरको जिप प्रयोग गरी आज बिहानै केदारस्युँ गाउँपालिकाकाको बाग्लथलामा यात्रु बोकेको भेटिएपछि अन्य यात्रुवाहक सवारी सधानका सवारी चालकहरूले ट्राफिक प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पश्चात ट्राफिक प्रहरीले नगरपालिकाको उक्त गाडीलाई प्रयोजन विपरित प्रयोग गरेको र क्षमता भन्दा बढी यात्रु बोकेको भन्दै कारबाही गरी २ हजार रुपैयाँ जरिवाना गरिएको ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद बिष्टले जानकारी दिनुभयो। सरकारले भने सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन रोक लगाएको छ । यदि अत्यावश्यक काम परी सरकारी गाडी प्रयोग गर्नै परेमा जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारीको पास लिनुपर्ने व्यवस्था रहेको छ ।

नगरपालिकाको उक्त गाडी प्रयोग गर्नका लागि हिजोनै जिल्ला प्रशासन कार्यालयबाट पास मागेको र आवश्यक कामको लागि प्रयोग गर्न खोजेको भए आफूले अन्तरपालिका चलाउन अनुमति दिएको बझाङका प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, आवश्यक कामका लागि बागथला सम्म चलाउनु पर्ने भनेपछि मैले मैले अनुमति हुँ । तर गाडी प्रयोजन विपरीत प्रयोग गरिएको बारेमा मलाई थाहा भएन । ट्राफिक प्रहरीले भने प्रमुख जिल्ला अधिकारीको पास लिएको भएपनि प्रयोजन विपरित प्रयोग गरिएको र क्षमता भन्दा बढी यात्रु बोकेको बन्दै कारबाही गरेको जनाएको छ ।

यस बिषयमा नगरपालिकाका सवारी चालक जनक धामीले भने प्रमुख जिल्ला अधिकारीको पास लिएर नगरपालिकाको समान ल्याउनका लागि बागथला गएको र केही चिनजानको मान्छेहरूले गाडीमा बिजगडा आउन खोज्दा अन्य सार्वजनिक यातायातका गाडी चालकहरूले विवाद गरी ट्राफिक प्रहरीलाई खबर गरेर जरिवाना तिराएको बताएका छन् । बुंगल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धुर्वराज जोशीले भने आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्