बझाङमा चाडपर्व लक्षित सुरक्षा व्यवस्था र सवारी चेकजाँचमा कडाइ 

Image

बझाङ ; जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बझाङले चाडपर्वलाई लक्षित गरी संयुक्त सुरक्षा व्यवस्था र सवारी चेकजाँच कडा पारेका छन् । चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना–२०८१ पारित गरेपछि जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना र सवारी चेकजाँच कडाइ गरिएको हो।

जिल्लाका हुन सक्ने सम्भावित घटना र असुरक्षालाई मध्यनजर गरि सुरक्षा व्यवस्था र सवारी साधन चेकजाँच थालिएको छ । यस्तै सडकमा अनुगमन गर्दा कच्ची र पक्की सडकको भाडादरअनुसार नलिएको पाइएपछि ट्राफिक कारबाही गर्दै भाडादर जिपमा टाँस्न लगाएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताउनुभयो । जिल्लाको खप्तडछान्ना, तल्कोट, मष्टा, सुर्मा गाउँपालिकामा जाने जिपको छड्के अनुगमन गर्दा चर्को भाडा लिने र क्षमताभन्दा बढी भाडा लिएको पाइएपछि कारबाही गरेको उहाँले बताउनुभयो ।

२०७८ असोज ६ गते जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयअनुसार जिल्लाभित्र सञ्चालन हुने साना सवारी साधनको भाडादर जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने पक्की सडकमा प्रतिकिलोमिटर ९ रुपैयाँ र अन्य कच्ची सडकमा रुपैयाँ प्रति किलोमिटर २० रुपैयाँ निर्धारण गरिएको थियो । सोही अनुसार गाडी भाडा नलिने जिपलाई कारबाही गरेको उहाँले बताउनुभयो । अब दसैँ तिहारमा यात्रुलाई ठग्नबाट जोगाउनका लागि जिल्लाभर अनुगमन तीव्र पार्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्