बझाङ : नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित परिवर्तक अभियान अन्तर्गत बित्थडचिर गाउँपालिका वडा नम्बर ९ को सुनकुडा बजारमा सरसफाई अभियान सम्पन्न भएको छ । आइएफआरसीको आर्थिक सहयोगमा तथा सुनकुडा नमुना माध्यमिक विद्यालय,डुम्राकोट प्रगतिशील समाज, र बित्थड चिर गाउँपालिका वडा नम्बर ९ को सहकार्यमा सुनकुडा बजारमा सरसफाई गरिएको हो ।
सरसफाईबाट सङ्कलित फोहोरलाई प्रतीकात्मक रूपमा गाउँपालिका उपाध्यक्षलाई उपहार प्रदान गराएर स्थानीय सरकारलाई सचेत गराएको अभियानका अभियन्ता कपिल बिष्टले बताउनुभयो । उहाँले बित्थड चिर गाउँपालिकाले हालसम्म फोहोर व्यवस्थापनका लागि आवश्यक कदम नचालेको उल्लेख गर्दै, बजारमा उठ्ने फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको तत्काल व्यवस्था गर्नुपर्ने कुरामा जोड दिनुभयो। आज बुधबार भएको सरसफाई कार्यक्रममा विद्यार्थी, स्थानीय व्यापारी, र समुदायका अन्य सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै सुनकुडा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मदनबहादुर बमले सरसफाई अभियानले विद्यार्थीहरूमा जनचेतना फैलाउने र वातावरणीय प्रदूषण घटाउने महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न समस्याहरूलाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरूको विशेष भुमिका रहने औंल्याउनुभयो ।
बित्थड चिर गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता हरिचन्द्र जोशीले अभियानले समाज सुधार र वातावरणीय संरक्षणको नयाँ चरणको थालनी गरेको बताउँदै, सरसफाईले मात्र होइन, जलवायु परिवर्तनको प्रभावलाई पनि सम्बोधन गर्नुपर्छ भन्ने सन्देश दिनुभयो। उहाँले स्थानीय युवाहरूमा सामाजिक जिम्मेवारी र पर्यावरणप्रतिको जागरूकता बढाउन यस्ता अभियानहरूको आवश्यकता रहेको बताउनुभयो।
बित्थडचिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्लले यो अभियानले गाउँपालिकाको ध्यानाकर्षण गराएको बताउँदै, फोहोर व्यवस्थापनलाई स्थानीय सरकारको प्राथमिकतामा राखिने कुरा बताउनुभयो। साथै, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र वातावरणीय सन्तुलन कायम गर्न फोहोर व्यवस्थापनको महत्त्वमा जोड दिनुभयो। उहाँले गाउँपालिकाले फोहोर व्यवस्थापनको लागि ठोस कदम चाल्न सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमले सरसफाई र जलवायु परिवर्तन जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा स्थानीय तह र समुदायलाई सचेत बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ। युवाहरूमा सामाजिक जिम्मेवारीको भावना बढाउन र भविष्यका वातावरणीय चुनौतीहरू सामना गर्न सक्रिय बनाउने उद्देश्यले आयोजना गरिएको यो अभियान सफलतापूर्वक सम्पन्न भएको छ।