बझाङ । बझाङको बुंगल नगरपालिकाले कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाउनका लागि रेबिज खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। बुंगल नगरपालिकाको पशुपन्छी विकास शाखाले १८ औं विश्व रेबिज दिवसको अवसरमा जनचेतना खोप र उन्मूलन भन्ने नाराका साथ सबै वडा कार्यालयमा रेबिज खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
यही असोज १० गते देखि सञ्चालन गरिने रेबिज खोप कार्यक्रममा सबै वडामा रहेका घरपालुवा सामुदायिक कुकुर र बिरालोलाई रेबिज रोगविरुद्धको खोप लगाइने भएको छ । खोप अभियान अन्तरगत यही असोज १० गते वडा नम्बर १ र २ को वडा कार्यालयमा ,असोज ११ गते नगरपालिकाको वडा नम्बर ३,४ र ५ मा र यही असोज १२ गते वडा नम्बर ६,७ र ८ मा खोप अभियान सञ्चालन गरिने भएको छ ।
त्यस्तै असोज १३ गते बुंगल नगरपालिका वडा नम्बर ९ देउलिकोटमा, असोज १४ गते वडा नम्बर १० मा र असोज १५ गते वडा नम्बर ११ को वडा कार्यालयमा खोप अभियान सञ्चालन गरिने हुँदा आफूलाई पायक पर्ने खोप केन्द्रमा कुकुर र बिरालोलाई लिएर खोप लगाउन नगरपालिकाले अनुरोध गरेको छ ।
बुंगल नगरपालिकामा रहेका विपन्न समुदायमा रहेका ग्रामीण बस्तीमा सामुदायिक कुकुरको सङ्ख्या बढ्दै जाँदा रेबिज रोगको जोखिम पनि बढेको बताइएको छ ।टोलबस्तीमा घरपालुवा कुकुरको सङ्ख्या बढेसँगै बढेको रेबिज रोगको जोखिमलाई रोक्न खोप अभियान थालिएको बुंगल नगरपालिकाले जनाएको छ ।