बुंगल नगरपालिकाबाट प्रशारण सुरु भएको रेडियो बुंगल एफ.एम.को औपचारिक उद्घाटन गरिएको छ । यसअघि नै परिक्षण प्रशारणको क्रममा रहेको सामाजिक रुपान्तरणका लागि संचार समुह द्वारा संचालित रेडियो बुंगल एफएम ९८.३ मेगाहर्जको बिहीबार संविधान दिवसको अवसर पारेर औपचारिक उद्घाटन गरिएको हो ।
‘बुंगल नगरपालिका -१ चकाँडामा रहेको रेडियो बुंगलको उद्घाटन बुंगल नगरपालिकाका उप-प्रमुख धन बहादुर बोहराले गरेका हुन् । रेडियोका कार्यकारी निर्देशक सुरेश धामीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि एवं बुंगल नगरपालिकाका उप-प्रमुख धन बहादुर बोहराले रेडियोले समाजमा रहेका समस्याहरु उजागरण गर्नुपर्ने ,विभिन्न निकायमा भएका भ्रष्टाचारको बिरुद्धमा बुलन्द आवाज उठाउनुपर्ने र सामाजमा विकास निर्माणका कामहरुमा हातेमालो गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा रेडियोका कार्यकारी निर्देशक सुरेश धामीले रेडियो स्थापनार्थ सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै वर्तमान अवस्थाको प्रतिस्पर्धी युगमा रेडियोले समय सुहाउँदो नवीनतम् प्रविधिहरूको उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय तथा गैरसरकारी संघ संस्था, बैक तथा बित्तिय संस्थाका प्रमुख तथा प्रतिनीधि एवं पत्रकारहरु सहभागि थिए ।
संविधान दिवसकै दिन विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गरि रेडियोको औपचारिक उद्घाटन गरिएको छ ।