सुरेश धामी , बझाङ । बुंगल नगरपालिकाले विषयगत शाखा र समग्र स्थानीय तहले प्रवाह गरेका सार्वजनिक सेवा प्रभावकारिताका विषयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बुंगल नगरपालिको आयोजना तथा नेपाल पत्रकार महासंघ बझाङकाे सहजिकरणमा आज सरस्वती माध्यमिक बिद्यालयको प्राङ्गणमा गत आर्थिक बर्ष २०८०/८१ काे दाेस्राे सार्वजनिक सुनुवाइ गरेकाे हाे ।
कार्यक्रममा सेवाग्राहि, नागरिक समाज, राजनीतिक दल, विषयगत कार्यालयहरुको प्रमुख एवं प्रतिनिधिको उपस्थिती भएको थियो ।
आर्थक वर्ष ०८०।०८१ को दाेस्राे सार्वजनिक सुनुवाइमा नगरपालिकाले गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा नागरिकहरुले आफनो गुनासो, प्रतिक्रिया र सुझावहरु सहित हाकाहाकी बहस गरिएको थियो ।
कार्यक्रममा बुंगल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कुंवरले गत आर्थिक बर्षमा नगरपालिका बाट भए गरेका कामको जानकारी गराउनु भएको छ । उहाँले गत आर्थिक बर्षमा विनियोजित ६९ करोड ५४ लाख ६१ हजार ५ सय ४० मध्य ६० करोड ८८ लाख ४९ हजार ७ सय ९१ खर्च गरिएको उहाँले प्रस्तुत गर्नुभएको सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत कुंवरले संस्थागत व्यवस्थापन तथा सुशासन सम्बन्धिका कार्यहरु पालिकाका कर्मचारीको अवस्था , स्वास्थ्य क्षेत्रको उपलब्धि , न्यायिक समिति ,बालबालिका उध्दम विकासका क्षेत्रहरुमा भएका विकासका कार्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरपालिकाको मुख्य उपलब्धिमा प्रशासकीय भवन निर्माण कार्य सम्पन्न , सडकको स्तरोन्नति , खानेपानी , सांस्कृतिक सम्पदाको निर्माण , विपद व्यवस्थापन तथा मानव विकास सम्बन्धिका विभिन्न तालिम गोष्ठी गरेको उपलब्धिका रुपमा सार्वजनिक गरेका थिए ।
सार्वजनिक सुनुवाइका रुपमा मुख्य समस्याका रुपमा पालिकाले योजना छनोट तथा कार्यान्वयन, उपभोक्ता समिति गठन तथा परिचालन , कर्मचारी दक्षताको अभाव , काम गर्ने वातावरण नहुनु , भौतिक कठिनाइ जस्ता समस्या रहेको उल्लेख गरेका थिए ।
कार्यक्रममा नागरिकले बैंक सेवाबाट स्थानीयले पाएको सास्ती , सार्वजनिक यातायातका साधानको भाडा निर्धारण, शिक्षक कर्मचारी दरबन्दी मिलान र नगरपालिकाले प्रवाह गरेका सेवा सुबिधाको बारेमा गुनासो राख्नुभएको थियो ।
नागरिकहरु बाट प्राप्त भएका गुनासाहरुको सम्बोधन जवाफदेहि बक्ताको रुपमा नगरप्रमुख जय बहादुर धामी, उपप्रमुख धनबहादुर बाेहरा निमित्त कार्यकारि अधिकृत नरेश कुंवर र बिषयगत कार्यालयका प्रमुख रहेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात उठेका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गर्दै जवाफदेही वक्ताहरुले नगरपालिकाको योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन गर्नको लागि नगरपालिका सधै चनाखो रहेकाे बताएका छन ।
सार्वजनिक शान्ति सुव्यवस्था कायम गर्ने प्रतिवद्धता गर्नुका साथै लक्षित वर्गको लागि विनियोजन गरिएको रकम लक्षित वर्गमा नै खर्च गर्ने, स्वस्थ प्रतिष्पर्धाका आधारमा कर्मचारि नियुक्ती गर्ने, लगायतका सार्वजनिक प्रतिवद्धताहरु गरिएको छ ।
कार्यक्रममा गुनासाे, सुझाव र प्रश्नकर्ताहरुले नगरपालिकाकाे विकासमा लाग्न जनप्रतिनिधिलाई आग्रह गर्दै नगरकाे हित विपरित काम गरे राम्राे नहुने बताएका छन ।