बझाङः कोरोना संक्रमणको फाइदा उठाउँदै बझाङमा यातायात व्यवसायीले मनोमानी भाडा असुल गरिरहेको गुनासो बढदै गए पछि प्रहरीले चेकजाँचमा कडाई गरेको छ । कोरोना संक्रमणको बेला यातायातका साधन तुलनात्मक रूपमा कम चल्ने भएकाले यात्रुबाट निर्वाध रूपमा व्यवसायीले भाडाको बार्गेनिङ गरिरहेका छन् । सरकारले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा ५० प्रतिशत कम यात्रु राख्ने र तोकिएको भन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय गरेको छ । तर, सिट क्षमताको आधा मात्र यात्रु राख्न पाउने नियमको चालकले पालना गरेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले जयपृथ्वी राजमार्गको सुवेडा र सुर्मा गाँउपालिकामा चल्ने साना सवारीको चेकजाँच गरेको छ । चेक जाँचकाक्रममा सवारी धनीले यात्रु बा दोब्बर भाडा असुलेको फेला परेको छ । ट्राफिक कार्यालय बझाङबाट सदरमुकाम चैनपुरमा डिउटीमा खटिएका हवल्दार हेमबहादुर कठायतले चालकले निरीक्षणका क्रममा दोब्बर भाडा उठाएको भेटिएको बताए । मंगलबार निरक्षणको क्रममा मनोमानी भाडा लिएका १५ वटा सवारी साधनलाई कारबाही गरेको उनको भनाई छ ।
सवारी चालकले यात्रुलाई टिकटसमेत नदिने गरिएको पनि भेटिएको छ । ट्राफिक प्रहरीले निरीक्षण गरेका कुनै पनि सार्वजनिक सवारी साधनमा चालकले यात्रुलाई टिकट नदिइएको भेटिएको हो । टिकट माग्दा चालकले टिकट नदिने गरेको यात्रुको गुनासो छ । यता जिल्लास्थित बझाङ सार्वजनिक यातायात प्रालिका अध्यक्ष भगदत्त जोशी भने आफ्नो प्रालिमा आवद्ध सबै सदस्य सवारी साधनलाई टिकट दिइएको बताउँछन् ।
जिल्लामा बिरामीको नाममा प्रशासनबाट पास लिएर यात्रु बोक्ने काम तीव्र भइरहेको छ । बझाङबाट धनगढीसम्मको भाडा आफूबाट ४ हजार असुल गरेको यात्रु सौगात उपाध्यायले बताए । तोकिएको भन्दाबढी भाडा तिर्नुपर्दा यात्रुले सास्ती खेप्नु परेको छ भने अर्कोतर्फ यात्रुले खचाखच भरिएको सवारी साधनमा यात्रा गर्दा कोरोना फैलिने जोखिम पनि उच्च रहेको छ ।