बझाङ । बुंगल नगरपालिकाले सडकका विभिन्न रुटमा स्मार्ट बत्ती (लाइट) जडान गरेको छ । चालु आर्थिक बर्ष २०८०/०८१ मा संघिय सरकारले उपलब्ध गराएको बजेटबाट बुंगल नगरपालिकाले नगरपालिकाको विजगडा बजार क्षेत्रको सडकहरूमा सात ओटा स्मार्ट बत्ती जडान गरेको हो ।
यस अघिका वर्षहरूमा पनि सडक बत्ती जडान गर्नको लागि संघिय सरकार बाट बजेट विनियोजन हुने गरेको भएपनि पालिकाले कार्यान्वयन गर्न नसक्दा बजेट फ्रिज जाने गरेको थियो । यस वर्ष भने विजगडा बजार क्षेत्रका विभिन्न सडकहरूमा स्मार्ट सडक बत्ती राखेर स्तरोन्नति गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कुंवरले बताउनुभयो ।
प्रशासकीय अधिकृत कुंवरका अनुसार बजेट कम भएका कारण यस बर्ष स्थलगत आवश्यकताका आधारमा केही संख्या कम भएको भएपनि बत्ती जडान पछि रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन र दुर्घटना कम गर्नको लागि आधुनिक सडक बत्ती जडान गरिएको हो ।