जिल्ला कारागार बझाङमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी
बझाङ । जिल्ला कारागार बझाङमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी बस्दै आएका छन । २५ जनाको क्षमता रहेको कारागारमा हाल ६२ जना कैदीबन्दी र ९ जना थुनुवा गरी ७१ जना रहेका छन्। महिला बन्दी भवनमा पनि पुरुष बन्दी नै बस्दै आएका छन्। महिला कैदीबन्दी तथा थुनुवा आए अर्कै जिल्ला सार्नुपर्ने अवस्था छ। हाल ६ वटा कोठामा कैदीबन्दी कोचिएर बस्नुपर्ने अवस्था रहेको र दिसापिसाब गर्न समेत समस्या हुने गरेको जेलर धनबहादुर घर्तीले बताउनुभयो ।
७१ जनाका लागि दुईवटा शौचालय भएकाले बिहानदेखि दिउँसो १२ बजेसम्म दिसा पिसाबका लागि लाइनमा बस्नुपर्ने बाध्यता रहेको कारागारका कैदीहरूको गुनासो रहेको छ । कारागारमा रहेका कैदीहरूका लागि फराकिलो बस्ने बासस्थान र पर्याप्त शौचालयको व्यवस्था गरिनु पर्ने भएपनि कुनै पनि निकायबाट पहल हुन नसकेको कारागारमा रहेका कैदीहरूले गुनासो गर्दै आएका छन् ।
पुरुष बन्दी गृहका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना डोटीले भवन निर्माणको काम गरिरहेको र भवन निर्माणको काम ६० प्रतिशतको हाराहारीमा सम्पन्न भएको भएपनि ४० प्रतिशत काम अझै बाँकी रहेको जेलर धनबहादुर घर्तीले बताउनुभयो । नयाँ भवन तयार भएर हस्तान्तरण भएपछि कैदीहरूलाई राख्न सहज हुने र उनीहरूका लागि आवास तथा शौचालयको व्यवस्थापनमा पनि सहज हुने जेलर घर्तीको भनाइछ ।