साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष धामी दसैंका लागि पोखरामा च्याङ्ग्रा व्यापार गर्दै

बझाङ। बझाङको साइपाल–१ का राजेन्द्रबहादुर धामीले यतिबेला च्याङ्ग्राका हुल हाँक्दै पोखरामा छन्। उनी पोखरा पहिलोपटक आएका भने होइनन्। २०६८ सालदेखि उनले दसैंमा च्याङ्ग्रा पोखरा झार्न थालेका हुन्।

गाउँमा च्याङ्ग्रा पालन गर्छन्। अनि बर्सेनि दसैंका बेला बेच्न पोखरा ल्याउँछन्। २०७४ को स्थानीय तह निर्वाचनमा उनी बझाङको साबिकको काँडा गाउँपालिका अध्यक्ष बनेका थिए। चुनाव जितेपछि सबै काम छाडेर जनप्रतिनिधिको भूमिकामा रमाएका थिए। उनकै पालामा गाउँलेकै आग्रहमा काँडा गाउँपालिकाको नाम साइपालमा परिवर्तन भएको थियो।

जनप्रतिनिधि भएर काम गर्दा भने उनी च्याङ्ग्रा बेच्न पोखरा झरेनन्। ती दिन उनले व्यापारलाई सम्झना गरिरहन्थे। जनप्रतिनिधि बनेर गाउँको सेवामा लागिरहँदा व्यापारमा समय दिन पाएका थिएनन्। २०७९ को स्थानीय तहको निर्वाचनमा भने उनी सहभागी भएनन्। फेरि जनप्रतिनिधि भएर काम गर्ने मन नभएको होइन। तर, पार्टीले उनलाई टिकट दिएन। ‘पार्टीले टिकट दिएन्‚ अनि फेरि परिवारले सम्हालेको च्याङ्ग्रापालनतिर लागेँ‚’ उनी भन्छन्।

काम भनेको सानो ठूलो हुँदैन भन्ने उनको भनाइ छ। ‘म त पूर्वजनप्रतिनिधि हुँ भन्ने कहिल्यै लागेन। अहिले पनि गाउँलेको सेवामा हाजिर हुन्छु,’ उनी भन्छन्, ‘काम सानो ठूलो लाग्दैन। मैले च्याङ्ग्रापालनसँगै जडीबुटी खोज्ने र व्यापार पनि गर्छु।’
धामी अहिले पोखरामा च्याङ्ग्रा धपाइरहेका छन्। उनी दसैंका लागि १ सय २७ च्याङ्ग्रा लिएर शुक्रबार पोखरा आइपुगेका हुन्।

‘दसैंमा पोखरामा च्याङ्ग्रा धेरै बिक्री हुन्छ। यसैले बझाङदेखि तीन दिन तीन रात काटेर च्याङ्ग्रा लिएर आएको हुँ,’ उनले भने, ‘मैले ल्याएको १ सय २७ च्याङ्ग्रामध्ये आफैंले पालेको ८० वटा छ। अरु गाउँलेसँग किनेर ल्याएको छु।’

सप्तमीसम्म ल्याएको च्याङ्ग्रा सबै बिक्री हुनेमा उनी विश्वस्त छन्। यहाँको व्यापारबाट भएको आम्दानीले बझाङ दसैं धुमधामले मनाउने उनको योजना छ।

‘सप्तमीसम्म सबै बिक्छ। यसबाट दुई लाख जति नाफा होला की भन्ने सोचेको छु। के थाहा घाटा पनि हुनसक्छ,’ उनले भने, ‘अष्टमीतिर घर फर्कने अनि दसैं मनाउने भन्ने योजना छ।’ उनले पोखरा ल्याएका च्याङ्ग्राको मूल्य २५ हजारदेखि ५० हजार रुपैयाँसम्म तोकेका छन्।

उनी अरु बेला बझाङमै च्याङ्ग्रा बिक्री गर्छन्। यो व्यापारबाट आफूले एक वर्षमा १० देखि १२ लाख आम्दानी गर्ने गरेको उनले बताए। ‘गाउँपालिका अध्यक्षमा जिताएर त्यहाँका जनताले अनुभव गर्ने अवसर दिनुभएको थियो। मैले उहाँहरुको सेवा पनि गरे,’ उनले भने, ‘अहिले यो व्यापार गरिरहेको छु। दुवैतिर दुःख नै छ। मलाइ जनप्रतिनिधि हुँदा र व्यापारी हुँदा उस्ताउस्तै लागेको छ।रासस

janahit ma jari sandesh
Masta R.M
Loading...