बझाङमा मन्त्री दम्पतीको अन्तिम बिदाइ, शवयात्रामा सहभागी मलामीका आँखामा आँशु..!

बझाङ ;  गाडी दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह दम्पतीको अन्त्येष्टि गरिएको छ । शनिबार मन्त्री दम्पतीको शवयात्रामा ठूलो संख्यामा राजनीतिज्ञ, सुभेच्छुक र स्थानीयहरूको उपस्थिति थियो । जिल्ला अस्पतालबाट सुरु भएको शवयात्रामा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय बासिन्दा लगायत सयौंको संख्यामा मानिसहरुको सहभागिता रहेको छ ।

गत मंगलबार धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजु जयाको मृत्युु भएको थियो । मन्त्रीपत्नी अमृता र भाउजु जयाको घटनास्थलमै र सिंहको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो । मृतक जया सिंहको अन्तिम संस्कार महेन्द्रनगरमा गरिएको थियो । मन्त्री सिंह दम्पतीको भने उनका कान्छा छोरा आदेश सिंह अमेरिकामा रहेकाले उनलाई पर्खँदा दाहसंस्कारमा ढिलाइ भएको थियो ।

उनीहरूको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको थियो । जिल्ला अस्पतालबाट सुरु भएको शव यात्रामा सहभागी हुनका लागि जिल्लाका विभिन्न गाउँबाट शुभचिन्तकहरुको ओइरो लागेको थियो भने व्यापारीहरुले शोक प्रकट गर्नका लागि सदरमुकाम चैनपुर बजार पूर्ण रुपमा बन्द गरेका थिए । परराष्ट्रमन्त्री एनपी साउद, मुख्यमन्त्री कमल बहादुर शाह, बाजुराका सांसद बद्री पाण्डे पनि श्रद्धाञ्जली दिन बझाङ पुगेका छन् ।

मन्त्री सिंहको शवलाई सदरमुकाम चैनपुर बजार परिक्रमा गराइएको थियो । उनको शवयात्रामा सहभागी अधिकांश मलामीका आँखा आँशुले भिजेका थिए । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउन लागेका सिंहलाई स्वागत गर्न भनेर उनेका फूलमाला पार्थीव शरीरमा चढाउनु पर्दा जिल्लावासी भावविह्वल देखिन्थे ।

’सुदूरपश्चिम सरकारमा बझाङले पहिलो पटक मन्त्री पाएकोमा बझाङवासी खुसी थिए । उहाँको जिल्लामा भव्य स्वागत गर्ने तयारी थियो,’ नेपाली काङग्रेसकी नेतृ जयन्ती जोशीले भनिन्, ’स्वागतको लागि उनेका फूलमाला दाहसंस्कारमा चढाउनुप¥यो । प्रिय नेताको बिदाइमा सबैका आँसु बगेका छन् ।’

उनको अन्तिम दाहसंस्कार सेती नदी किनारको डुङग्री आर्यघाटमा हिन्दु परम्परा अनुसार गरिएको छ । सिंह दम्पतीको शवमा उनका छोरा अभिषेक बहादुर सिंह र आदेश बहादुर सिंहले दागबत्ती दिए । कान्तिपुर

Hohel Kananga
Loading...