काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार पारेको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ । प्रतिवेदनले पार्टी पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउँदै अघि बढ्न सुझाव दिएको छ । शनिबार अध्यक्षद्वयलाई बुझाइएको प्रतिवेदन सर्वसम्मत तयार पारिएको कार्यदल सदस्य जनार्दन शर्माले जानकारी दिए ।
अर्का कार्यदल सदस्य भीम रावलले राजनीतिक तथा संगठनात्मक रुपमा गर्नुपर्ने काम गर्दै एकताको राष्ट्रिय माहाधिवेशन चैतमा गर्ने कार्यदलले सुझाव दिएको जानकारी दिए । त्यस्तै संसदीय दलको भूमिका प्रभावकारी बनाउने र प्रदेश र स्थानीय सरकारलाई समेत थप प्रभावकारी बनाउनुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले नेपालको सीमा समस्या र समाधान सम्बन्धमा कुटनीतिक तथा राजनीतिक दुवै माध्यमबाट पहल गर्न सुझाव दिएको छ । –रातोपाटी