अछाम – गएको बुधबार अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका ११ जना अझै फेला पर्न सकेका छैनन् । बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको भए पनि अझै सम्म भेटाउन नसकेको अछाम प्रहरीले जनाएको छ । बाढीले बगाएर छ जनाको मृत्यु भएको छ । मृत्यु भएका छ जनाको शव फेला परी पहिचान भइसकेको छ ।
बाढीमा परी बगेर बेपत्ता हुनेहरुमा रामारोसन गाउँपालिका–५ बस्ने वर्ष ४७ का नन्दु साउद, वर्ष ४५ का गङ्गा साउद, वर्ष १७ का रुपेश साउद, वर्ष छ का प्राकृति साउद, वर्ष ५५ को जोगा साउद, वर्ष ४५ का अम्मर शाह, वर्ष ४० का पवित्रादेवी शाह, वर्ष चारका समिर शाह, वर्ष ३५ की सम्झना शाह, वर्ष ४५ का वासु साउद, वर्ष ४५ का लालसरा शाही, वर्ष आठका बसन्ती शाही रहेका छन् ।
खोलाले बगाएर बेपत्ता भएका थप ११ जनाको खोजी कार्यका लागि आज शनिबार पनि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली खटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । राति पसल तथा घरमा सुतिरहेको अवस्थामा अचानक बाढी आउँदा उनीहरु सबै बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डिएसपी योगेन्द्रसिंह थापाले बताए ।