दार्चुलामा भैँसी लोप हुँदै , किसानले भैँसी पाल्नै छाडे !

दार्चुलाः सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पछिल्लो समय भैँसी लोप हुँदै गएका छन्। कुनैबेला दार्चुलाका गाउँघरमा व्यावसायिकरुपमा भैँसीपालन गर्ने किसानले पनि अहिले पाल्न छाडेका छन्। केही वर्षअघिसम्म प्रत्येक किसानका घरमा कम्तीमा पनि दुईदेखि तीन भैँसी हुन्थे तर अहिले आएर तिनै गाउँमा भैँसी पाइन छाडेको छ।

भैँसी दूध, दही, मही र मल उत्पादनका लागि राम्रो मानिए पनि पछिल्लो समयमा किसानले भैँसी पाल्न छाड्दा खेतबारीमा प्रयोग गरिने मलको अभावमा अन्नबालीमा समेत कमी आउन थालेको छ। भैँसीपालनका लागि धेरै परिश्रम चाहिने भएकाले यसप्रति किसानको आकर्षण घट्दै गएको शैल्यशिखर नगरपालिका–५ का मदनसिंह रावलको भनाइ छ।दार्चुलाका अधिकांश किसानले भैँसी नै पाल्न छाड्नुको विशेष कारण खरी रोग पनि रहेको छ। विसं २०५३ देखि दार्चुलामा देखापरेको खरी रोगका कारण स्थानीय जातको भैँसी लोप हुने स्थितिमा पुगेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत रामबहादुर खड्काले बताए।

विशेषगरी दार्चुलामा कहीँकतै भैँसीपालन गरेको देखिए पनि भैँसी एकचोटी ब्याएपछि दोस्रो वर्ष किसानले प्रति भैँसीको रु २५ देखि ३० हजार मूल्य पाउनेहुँदा मासुका लागि धनगढी पठाउने गरेका छन। बर्सेनि यहाँबाट एक हजार पाँच सयसम्म मासु प्रयोजनका लागि व्यापारीले धनगढी लग्ने गरेकाले पनि भैँसी लोप हुन लागेको शैल्यशिखरका पशुसेवा शाखा प्रमुख मुन्नी धामीले बताए।

खरी रोगको उपचार लामो समयसम्म गर्नुपर्ने भएकाले किसान दिक्क भएर भैँसी धनगढी पठाउने बाध्यता रहेको मालिकार्जुन–३ का अकबरसिंह धामीले बताए। भैँसीपालनमा बढी मेहनत गर्नुपर्ने भएका कारण धेरैजसो किसान जर्सी गाईपालनमा आकर्षित भएका छन।
रासस

Loading...