बैतडी ; बैतडीमा बुधबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेकी माया लुहार म्यादी प्रहरी भएको खुलेको छ। पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया लुहार भर्खरै सम्पन्न भएको निर्वाचनमा म्यादी प्रहरी भएकी थिइन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना भएकी लुहार सेवा अवधि सकिएपछि घर फर्किएकी थिइन्।
मंगलबार घरबाट कपडा सिलाउन भनी भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँग पञ्चेश्वर ३ कुलाउतिर हिँडेकी उनी घर नफर्केपछि खोजी गर्दै जाँदा हत्या गरेको अवस्थामा फेला परेकी थिइन् भने नेहा पनि घाइते अवस्थामा फेला परेकी थिइन्।घाइते नेहाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मायाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ।
मायाको हत्या आशंकाको घेरामा सशस्त्र प्रहरीका एक जना जवान परेका छन्। केही दिन पहिला पञ्चेश्वर घर भएका सशस्त्र प्रहरीका जवानले मायाको मोबाइल खोसेको कुरा जानकारीमा आएकाले उनी शंकाको घेरामा परेका पञ्चेश्वर गाउँपालिका–४ का वडा अध्यक्ष जनकबहादुर चन्दले बताए। घटनापछि ती सशस्त्र प्रहरीका जवान फरार छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा प्रहरीले घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीले भने घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न सकिने अवस्था नरहेको बताएको छ।