काठमाण्डौ – प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन आज हुदैछ । आउँदो पाँच वर्षका लागि सङ्घ र प्रदेशमा जनप्रतिनिधि चयन गर्न मतदान हुँदैछ । दुई सय ७५ प्रतिनिधि सभा सदस्य र तीन सय ३० प्रदेश सभा सदस्य चयनको लागि मतदान हुन लागेको हो । आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
देशभरका मतदान केन्द्रमा बिहानैदेखि मतदाताको चहलपल सुरु भएको छ । देशभर १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र रहेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नजिकको मतदान केन्द्रमा गएर संविधानले दिएको मौलिक हक अन्तर्गत पर्ने मतदानको सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।
सुदूरपश्चिममा १६ लाख ५८ हजार ४ सहित देशभर चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । चुनावका लागि मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी तथा नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख सुरक्षाकर्मी खटिएका छन् । आयोगका अनुसार स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जनाले पर्यवेक्षण गर्नेछन् । ४४ वटा स्वदेशी संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकले अनुगमन गर्ने गर्नेछन् ।