काठमाडौं ; नेपालीहरुको महान पर्व बडादशैँको चौथो दिन, बिहीबार कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ। कुष्माण्डाको आराधनाबाट रोग, शोक र विविध प्रकारका कष्ट निवारण हुने विश्वास गरिन्छ। कुष्माण्डा नवदुर्गा भगवतीकी चौथो रूप हुन्। यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, बाण, कमल, चक्र र गदा आदि शस्त्र–अस्त्र छन्।
नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घडामा आवाहन गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ। यसै घडामा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गरिन्छ। प्रत्येक दिन एक–एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ।