काठमाण्डौ – विभिन्न मागसहित अनशनमा बसेका डाक्टर गोविन्द केसीले अनशन तोड्नुभएको छ । सरकारसँगको १० बुँदे सहमतिपछि डाक्टर केसीले अनशन तोड्नुभएको हो । डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले शनिबार बेलुका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गरेपछि उहाँले अनशन तोड्नुभएको डा. केसीका सहयोगी तथा वार्ता टोलीका सदस्य प्रितम सुवेदीले जानकारी दिनुभयो । केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो ।
भदौ २७ गतेबाट धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं आमरण अनसन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई असोज ५ गते थप उपचारका लागि काठमाण्डौ ल्याइएको थियो ।
केसीका माग सम्बोधन गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । देशभरका सरकारी अस्पतालमा बेडअनुसार दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसङ्ख्या वृद्धिअनुसार अस्पताल÷स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्स–रेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, लगायतका मागसहित उहाँ २०औँ अनशनमा हुनुहुन्थ्यो ।