काठमाण्डौ – सत्तारुढ गठबन्धनले तालमेल गरेर उम्मेदवारी दिने भने पनि विभिन्न जिल्लामा समस्या भएको छ । ६६ भन्दा बढी जिल्लामा समस्या देखिएको गठबन्धनका दलहरुले बताएका छन् ।
एकीकृत समाजवादी र जसपाका नेताहरुले विभिन्न जिल्लामा आफ्नो दललाई उपेक्षा गरेको गुनासो गर्दै आएका छन् । आज उम्मेदवार मनोनयनअघिसम्म बाँडफाँट मिलाउन अधिकतम कोसिस गर्ने सत्ता गठबन्धनका नेताहरुले बताएका छन् ।हिजो बसेको गठबन्धनको बैठकले पाँच दल बाहिर तालमेल नगर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिका माओवादीको भागमा परे पनि कांग्रेस नेता जगन्नाथ पौडेले बागी उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
यस्तै पोखरा महानगरपालिकाका वडाहरूमा भागबन्डा नमिलेको र अरु चार गाउँपालिकामा पनि कुरा नमिलेपछि कास्की कांग्रेसले केन्द्रबाट तालमेल भएको मेयर पदबाहेक पोखराका वडामा एक्लै चुनाव लड्ने निर्णय गरेको छ । यस्तै सत्तारूढ गठबन्धनको भागबन्डा विपरीत एकीकृत समाजवादीले ललितपुर महानगरमा मेयर र उपमेयर उम्मेदवार घोषणा गरेको छ ।
यस्तै नेपाली कांग्रेसले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिका ६ उम्मेदवार चयन गर्न सकेको छैन । चार दिनदेखि लगातार बैठक बसेर पनि उम्मेदवार टुङ्गो लाग्न नसकेपछि उम्मेदवार छनोट गर्ने जिम्मा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको छ । कांग्रेसभित्र काठमाण्डौको मेयरको उम्मेदवारका सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको मेयरमा निर्णय हुन बाँकी छ।
विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई नै दोहोर्याउने कि शेखर कोइरालाले प्रस्ताव गरेका नागेश कोइरालालाई टिकट दिने भन्नेमा विवाद छ । भरतपुर महानगरपालिकाको उपमेयर चित्रसेन अधिकारीलाई दिने कि सूर्यकान्त घिमिरेलाई भन्नेमा विवाद छ । पोखराको उपमेयरमा पनि कोपिला रानाभाट र सुरेन्द्र बिजुक्छेको कसलाई दिने भन्नेमा सहमति जुटेको छैन । ललितपुरमा पनि चिरीबाबु महर्जनलाई नै दोहोर्याउने कि नयाँ उम्मेदवार बनाउने भन्नेमा टुङ्गो लाग्न बाँकी छ ।