बझाङ सहित सुदूरपश्चिममा शिक्षकहरू आयोगको परीक्षा दिन हिँडेपछि अधिकांश विद्यालय बन्द
मकरराज धामी, बझाङ ; शिक्षकहरू शिक्षक सेवा आयोगको परीक्षा दिन जिल्ला बाहिर गएपछि सुदूरपश्चिका पहाडी जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन् । कतिपय ठाँउमा विद्यालयहरूले एक साताका लागि बिदा दिएका छन् । कतिपय स्थानीय पालिकाले नै बिदा दिएका छन् । शिक्षक सेवा आयोगले लिने परीक्षा आजदेखि सुरु हुँदैछन् ।
सुदूरपश्चिम प्रदेशमा आयोगको परीक्षाका लागि कैलाली र कञ्चनपुरमा केन्द्र तोकिएका छन् । बझाङको जयपृथ्वी नगरपालिका १ कैलाशमा रहेको नारायण माध्यमिक विध्यालय २० चैतसम्मका लागि बन्द गरिएको छ । शिक्षकहरू आयोगको परीक्षा दिन गएपछि विद्यालय बन्द गर्नुपरेको प्रधानाध्यापक ऐनबहादुर सिंहले बताए । उनले भने, ’शिक्षक नहुँदा विद्यालय बन्द गर्नुपरेको हो । अधिकांश शिक्षकहरू अस्थायी र करारका छन् । परीक्षा नदिनु भन्न पनि मिलेन ।’
बैतडीको दोगडाकेदार गाउँपालिकाको शिक्षा समितिले निर्णय गरेरै पाँच दिनका लागि गाउँपालिकाका सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाकाले आइतबार सूचना जारी गर्दै शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालयमा उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द हुने जनाएको छ । गाउँपालिकाकाले जारी गरेको सूचना अनुसार १८ चैतसम्म विद्यालयहरू बन्द हुने छन् । गाउँपालिकाका अधिकांश शिक्षक आयोगको परीक्षामा सहभागी हुन जाने र विद्यालयको पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले आगामी शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा गरिने गरी बिदा दिने निर्णय गरिएको गाउँपालिकाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले बताए ।
डडेल्धुराको परशुराम नगरपालिकाभित्रका सामुदायिक विद्यालय पनि पाँच दिन बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताए । कञ्चनपुरको पुनर्वास नगरपालिकाले पनि सोमबार सूचना जारी गर्दै शिक्षक सेवा आयोगको परीक्षामा नगरपालिकाभित्रका विद्यालयमा अध्यापनरत अधिकांश शिक्षकहरू सहभागी हुने भएकाले विद्यालय बन्द गरिने जनाएको छ । सुदूरपश्चिमका अधिकांश अस्थायी तथा करार शिक्षकहरूले प्रदेश १, मधेस, बागमती लगायतका प्रदेशबाट परीक्षा फाराम भरेका थिए ।