बैतडी – बझाङ सहित सुदूरपश्चिममा आज पुसे १५ अर्थात ठुलीरात धुमधामसंग मनाइदै छ । आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राती मिठो मिठो खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहिआएको छ ।
पन्नरी रातका रुपमा समेत मनाईने यो पर्वमा आज १५ किसिमका परिकारहरु खाने गर्दछन । तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ । पुष १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरिर समेत फूर्तिलो हुन भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको छ । विशेषगरी आजको रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको छ ।
विश्वभरी डिसेम्बर २२ तारिखलाई नै सबैभन्दा छोटो दिन भनिएपनि नेपाली समाजमा भने पुष १५ लाई छोटो दिन मान्ने गरिन्छ । आजको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । आजदेखि दिनहरु विस्तारै लम्विदैँ जाने र असार १५ मा बर्षकै ठुलो दिन मानिन्छ ।