देशका पाँच प्रदेशमा मध्यमदेखि भारी हिमपातको सम्भावना सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाण्डौ – आज बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको बताएका हुन् । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज बेलुकादेखि हिमपात हुने मौसमविद् शाक्यले बताउनुभयो । यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाइ र यातायातसँगै दैनिक जीवनमा नै असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । पर्वतारोहणमा जाँदा वा एक ठाउँबाट अर्को ठाउँमा जाँदा मौसमको अवस्था बारे जानकारी लिन सुझाव दिइएको छ । यस्तै, मौसम पूर्वानुमान महाशाखाले यो प्रणालीको पार्ने असर बारे निरन्तर अनुगमन गरिरहेको र आवश्यक्ता अनुसार सूचना निकाल्ने पनि जनाएको छ ।

हिमपात र वर्षाले चिसो थप बढाउने हुँदा विशेष सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ । नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण अबका दिनमा तापक्रममा गिरावट आइ चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ ।

Loading...