काठमाडौँ — सर्वोच्च अदालतमा बुधबार देखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हा ‘कमन ल’प्रणाली अपनाउने अन्य मुलुकमा जस्तै नेपालमा पनि कुन मुद्दा कुन न्यायाधीशले हेर्ने भन्ने निर्णय गर्ने अन्तिम अधिकार प्रधानन्यायाधीशमा थियो । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उक्त अधिकारको व्यापक दुरुपयोग गरेको गुनासो बढेसँगै सर्वोच्चका न्यायाधीशहरूले पूर्ण बैठक बसी उक्त अधिकार खोसेका हुन ।
प्रधानन्यायाधीश जबरा न्यायिक विचलनमा परेका जस्ता आरोपसहित कात्तिक ८ गते देखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरू ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चितता पश्चात् इजलास फर्किंदै छन् । ‘गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका’ अनुसार सुरुमा बृहत् पूर्ण, त्यसपछि क्रमशः पूर्ण, एकल र संयुक्त इजलास गठन हुनेछ । गोला तान्न एउटै रूप, रङ, आकार र बनोटका गोटी प्रयोग गरिनेछ । निर्देशिकाअनुसार त्यस्ता गोटीलाई अपारदर्शी थैलीमा राखेर वरिष्ठताका आधारमा न्यायाधीशहरूले एक–एकवटा तान्नेछन् । त्यसरी तानेको गोटी सम्बन्धित न्यायाधीशले सीसीक्यामेरामा समेत रेकर्ड हुने गरी सबैलाई देखाउनुपर्नेछ, जसको अभिलेख आन्तरिक कम्प्युटर सञ्जालमा पनि रहनेछ । यसरी पेसी तोक्दा कुन मुद्दा कुन न्यायाधीशको इजलासमा दिने भन्ने प्रधानन्यायाधीशको स्वविवेकीय अधिकारमा कटौती हुनेछ । बुधबार कतिवटा इजलास गठन हुन्छन् भन्ने टुंगो भने अदालतमा उपस्थित न्यायाधीशहरूको संख्याका आधारमा मात्र लाग्नेछ । जबराको बहिर्गमन हुनुपर्ने मागसहित इजलास अस्वीकार गरेका न्यायाधीशहरूले गोला प्रक्रियाद्वारा इजलास गठनलाई एउटा ‘उपलब्धि’ का रूपमा लिएका छन् ।
जबराले आफूमाथि पद त्यागको दबाब पन्छाउने एउटा अवसरका रूपमा यसलाई प्रयोग गर्न खोज्नेछन् । तर जबरा इजलासमा बस्न नहुने भन्दै सुरुमा उनलाई गोला नै नतान्न अनुरोध गर्ने, यदि तानेछन् भने इजलास सेयर नगर्ने, सर्वोच्चका न्यायाधीश र जबराको इजलासमा बहस–पैरवी नगर्ने नेपाल बार एसोसिएसनको संस्थागत निर्णय छ । जसका कारण तत्काल जबरामाथिको दबाब घट्ने अवस्था भने देखिँदैन ।