बझाङमा हुलाक बचत रकम फिर्ताको माग राख्दै बचतकर्ताहरू धर्नामा

Image
तस्विर ; जिल्ला हुलाक कार्यालय बझाङ

मकरराज धामी, बझाङ  बचत रकम फिर्ताको माग राख्दै जिल्ला हुलाक कार्यालय बझाङमार्फत सञ्चालन भएको हुलाक बचत बैंकका बचतकर्ताहरूले आन्दोलन सुरु गरेका छन् । आफूहरूले जेनतेन गरेर जम्मा गरेको रकम फिर्ताको माग राखेर उनीहरूले बै‌ंकको कार्यालयमै धर्ना सुरु गरेका हुन् । यसअघि हुलाक बचत बैं‌कमा दुई वर्षादेखि जम्मा भएको बचत रकम फिर्ता नपाएको भन्दै गएको शुक्रबार प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीमार्फत सरकारलाई ज्ञापन बुझाएका बचतकर्ताहरूले आजदेखि धर्ना दिन सुरु गरेका हुन् । खाइनखाई जम्मा गरेको रकम आफूहरूले नपाउँदा संघर्ष समिति गठन गरी आन्दोलन सुरु गरेको संयोजक खडक बोहराले बताए । उनले भने, ‘हामीले हाम्रो समस्या सबैलाई सुनायौँ । हाम्रो आवाज कसैले पनि सुनेन । केही उपाय नलागेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको हो।

आर्थिक वर्ष २०७० र ७१ मा हुलाक बचत बैंकले बझाङमा आफ्नो सेवा सुरु गरेको थियो । तत्कालीन समयमा जिल्लामा कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य बैकहरू नभएको र आकर्षक ब्याज पाउने भएपछि बचतकर्ताहरू हुलाक बचत बैंकतर्फ आकर्षित भएका थिए । बचतकर्ताहरू बढेसँगै तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायले कार्यालयको बचत किताबमा बचतकर्ताले जम्मा गरेको देखाउने तर रकम आफैँ चलाउने गरेका कारण रकम हिनामिना भएको हो । दुवै जनाले रकम हिनामिना गरेपछि १ हजार ७ सय १ जना बचतकर्ताको ५ करोड ७८ लाख ६४ हजार रुपैयाँ गुम्ने खतरा छ ।

घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा पनि परेको थियो । बचतकर्ताको ४ करोड ९५ लाख भन्दा धेरै रकम हिनामिना गरेर अनियमितता गरेको ठहर गरी तत्कालीन हुलाकका कार्यालय प्रमुख कठायत र खरिदार उपाध्यायविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । तर अदालतले कठायतसँग १५ लाख र खरिदार शिवराज उपाध्यायसँग १२ लाख रुपैयाँ धरौटी लिएर रिहा गरेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन