बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मुख्यमन्त्री व्यस्त छु भन्दै पीडित नभेटी फर्किए

मकरराज धामी | बझाङ  : बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रदेशका पहाडी जिल्ला पुगेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पीडितलाई नभेटी फर्किएका छन् ।
मुख्यमन्त्री भट्टको नेतृत्वमा सभामुख अर्जुन थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसहितको टोली बेमौसमी वर्षाका कारण क्षति पुगेको बझाङ, डोटी र बैतडीको निरीक्षणमा गएको थियो । टोलीले प्रदेशका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो । टोलीले ठूलो मानवीय क्षति भएको बझाङको थलारा र सबैभन्दा बढी भौतिक क्षति भएको खप्तडछान्ना गाउँपालिकाको अवलोकन गर्‍यो ।

तर, खप्तडछान्नाको कालुखेती पुगेका मुख्यमन्त्री भट्टसहितको टोली समय अभाव भएको भन्दै ज्ञापन पत्र बुझेर फर्किएको छ । बिहान ११ बजे पुग्ने भनेको टोली दिउँसो ३ बजे मात्र पुगेको थियो ।
मुख्यमन्त्री कालुखेती आउने भनेपछि आफ्नो पीडा सुनाउन पीडितहरू बिहानै कालुखेती पुगेका थिए । लामो समय पर्खँदा पनि मुख्यमन्त्री नपुगेपछि निरास भएका पिडीतहरू मुख्यमन्त्री चढेको हेलिकोप्टर आएपछि भने खुसी भएका थिए । हेलिकोप्टरबाट ओर्लेका मुख्यमन्त्री भट्ट, सभामुख थापा र कानुनमन्त्री पूर्णा जोशी सहितको टोली समय अभाव भएको भन्दै गाँउपालिकाले तयार पारेको ज्ञापन पत्र सुनेर पाँच मिनेटमा फर्कियो । मुख्यमन्त्री भट्टले समय अभाव भएको भन्दै ज्ञापन पत्रमा उल्लेख भएका समस्याको सम्बोधन गर्ने र बाढीपहिरो पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने आश्वासन दिए ।

निरीक्षणमा आएका मुख्यमन्त्री भेट्न नपाउँदा पीडितहरू भने निरास भएका छन् । आफ्नै गाँउले सभामुख भएकाले प्रदेश सरकारले आफूहरूको पीडा सुन्छ कि भन्ने कालुखेतीबासीको सपना मुख्यमन्त्रीको समयसँग समय नभएपछि पूरा हुन सकेन । सुदूरपश्चिम प्रदेशका सभामुख थापा छान्नाकै स्थानीय हुन् । छान्नाको बाढीपहिरो प्रभावित क्षेत्रमा लगेर प्रत्यक्ष रूपमा देखाउने चाहना भए पनि समय अभावले त्यसो गर्न नसकिएको वडाध्यक्ष किरण गिरीले बताए । ‘समय कम छ भन्नुभयो। नजिकैको एक/दुई ठाँउ देखायौँ । हामीले ज्ञापन पत्र पनि बुझाएका छौँ,’ उनले भने, ‘मुख्यमन्त्री ज्यूले समस्याप्रति गम्भीर भएको र चाँडै समाधानका लागि पहल गर्छु भन्नुभएको छ ।’

janahit ma jari sandesh
Masta R.M
Loading...