बझाङ:-कोरोना संक्रमण दर घट्न थालेपछि बझाङमा निषेधाज्ञालाई केहि खुकुलो बनाईने भएको छ । आईतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञालाई केहि खुकुलो बनाई एक साता लम्ब्याउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय बझाङले असार ७ गतेसम्म निषेधज्ञा थपगरे पनि केहि खुकुलो बनाईने जनाईएको छ । जिल्लामा कोरोना संक्रमणको दर कम भएको अवस्थामा हप्ताको सातै दिन बिहान ६ बजेदेखि ११ बजेसम्म सबै प्रकारका पसल र विहान ७ बजे देखि १२ बजे सम्म बैंक तथा वित्तिय संस्था खोल्न पाइने निर्णय गरेको हो । यस अघि हप्ताको तीन दिन आईतबार, मंगलबार र शुक्रबार विहान ६ बजेदेखि ९ बजे बजार र सातै दिन विहान ७ बजेदेखि १० बजे सम्म बैंक तथा वित्तिय संस्थाहरु खुल्दै आएका थिए । निषेधज्ञा खुकुलो भए संगै सवारी साधन पनि सवारी पास लिई संचालन गर्न पाईने भएको छ । लामो दुरीमा भाडाका सवारी रिजर्व गरी जिल्ला बाहिरिने र भित्रने सवारी साधनहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सवारी साधनको सिट क्षमता भन्दा आधा यात्रुराखेर आवश्यक कामका यातायात संचालन गर्न पाईने भएको छ ।
सरकारी कार्यालयहरुले पनि भिडभाड नहुने गरी समयतालिका बनाएर सेवा सुचारु गर्ने भएका छन । जिल्लामा कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या दुई सय भन्दा कम छ । कोरोनाबाट निको हुनेहरुको संख्या बढ्दै जान थालेपछी निषेधाज्ञालाई केही खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए । उनले भने सरकारले पहाडी जिल्लामा दुई सय भन्दा बढी सक्रिय संक्रमित भए निषेधाज्ञा गनुपर्ने मापदण्ड थियो । तर बझाङमा अहिले सक्रिय संक्रमितको संख्या १५० रहेको छ । जिल्ला अस्पतालमा कोरोनाका दुइ जना मात्र बिरामी रहेका छन् भने बाँकी १४८ जना होम आइसुलेशनमा रहेका छन् । एक सातासम्म जिल्लामा कोरोना संक्रमितहरुको अवस्था यस्तै रहे निषेधाज्ञालाई हटाईने भनाई छ ।