खलोकै भरमा छविसपाथीभेराको उदयपुर टोलका दलित समुदाय: आरन व्यवसायको आधुनिकिकरण गर्न माग

सरकारले हलिया–प्रथा अन्त्य भएको घोषणा गरेपनि उदयपुर टोलका हलियाहरु भने सुचिकृत भएनन

मकरराज धामी : छविसपाथीभेरा गाउँपालिका ६ उदयपुर टोलमा १ सय २० घरपरिवार दलित समुदायका छन । उनीहरु मध्ये ७० घरपरिवार भुमीहिन छन । २०६५ सालमा सरकारले हलिया–प्रथा अन्त्य भएको घोषणा गरेपनि यस टोलका हलियाहरु भने सुचिकृत भएनन । जिल्ला मालपोत कार्यालयमार्फत बझाङमा घर निर्माणका लागि प्रति परिवार रु.३ लाख २५ हजार, जग्गा खरीदका लागि प्रतिपरिवार रु.२ लाख र घर मर्मतका प्रतिपरिवारलाई रु.१ लाख २५ हजारका दरले १० करोड ४१ लाख २५ हजार वितरण गरेको थियो । सरकारले हलियाहरुलाई विभिन्न शिर्षकमा आर्थिक सहयोग गरेको भएपनि आफुहरु सुचिकृत नहुँदा सेवालिन नपाएको करन बि.कले बताए । उनले भने आफु संग घर बनाउन जग्गा छैन । अन्त जग्गा किनेर घर बनाउँ भने विहान बेलुकाको खानाकै जोहो गर्नै धौ धौ छ । कसरी जग्गा किन्ने । पुस्तौ देखि यहाँका बि.क र नेपाली परिवार काम गरे बाफत मालिकले दिएको अन्नबालीले जिवन निर्वाह गरिरहेका छन । आफुहरुलाइ सुचिकृत गरिदिन बेला बेला आवाज उठाएपनि कसैले नसुनेको उनको भनाई छ ।

उदयपुर टोलका दलित समुदाय अझैपनि कृर्षि औजार बनाए बाफत खलो (काम गरे बाफत पाईने अन्नवाली) ले जिवन निर्वाह गरिरहेका छन । आफुहरुको आरन व्यवसाय व्यवस्थीत नहुँदा अझै पनि परम्परागत ढंगले आरन व्यवसाय संचालन गर्नु परेको अर्का स्थानिय जमन वि.कले देखेसो गरे । उनले भने गाँउघरतिर कृर्षि औजार बनाएको ज्याला भनेकै अन्नवाली हो । पैसा कसैले दिदैनन । बर्षभरि कृर्षि औजार बनाए बाफत जम्मा दुई खलो पाईन्छ । त्यतिले दुई महिना पनि खान पुग्दैन । आरन व्यवसायलाई व्यवस्थित गर्न कसैले सहयोग गर्दैनन । व्यवस्थीत गर्न सके केहि पैसो कमाईहुन्थ्यो । आरन व्यवसायको आधुनिकरणका लागी स्थानिय सरकारसंग माग गरेको भएपनि सुनुवाई नभएको उनको गुनासो छ ।

दलित समुदायको आरन व्यवसायलाई आधुनुकिकरण गर्ने सवाललाई आफुले प्राथमिकरणमा राखेको वडाध्यक्ष मोहनलाल वि.क ले बताए । उनले भने आफु पनि दलित समुदायको भएकाले पनि उदयपुर टोलका दलित समुदायको समस्यालाई नजिक बाट हेरेको छु । उनीहरुकै सुझाव र माग अनुसारका योजना बनाएका छौ । यसबर्ष उनीहरुको माग आरन व्यवसायलाई व्यवस्थीत गर्ने माग छ । यसका लागी आवश्यक बजेटको व्यवस्था गर्ने छु । दलित समुदायको खाद्य सुरक्षाका विषयमा पनि विशेष पहल गर्ने उनको भनाई छ ।

जिल्लामा उत्पादन खाद्यान्न बर्षभरिलाई नपुग्ने भएपनि खाद्य असुरक्षाका हिसाबले अन्य समुदाय भन्दा दलित समुदायमा जोखिम बढेको खाद्य सुरक्षाका क्षेत्रमा काम गर्दे आएको फियान नेपालकी फिल्ड संयोजक सीता सिंहको भनाई छ । उनले भनिन् दलित समुदायमा विहान खाए साँझ के खाउँ भन्ने चिन्ता छ । लकडाउन नभएको बेला साहुकोमा गएर, अन्य ठाँउमा ज्याला मजदुरी गरेर गुजरा गरिरहेका थिए । लकडाउन पछि काम नपाउदा भोकमरीको चपेटामा परेका छन । फियान नेपालले समुदायमा राहातको व्यवस्था गर्न सरोकारवाला निकायहरु संग पैरवि गरिरहेको उनको भनाई छ ।

Samajik
Bithadchir 2
Loading...