बझाङ:- बझाङ जिल्ला सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार भएको छ । दुईसाता देखि सदरमुकाम चैनपुरमा खानेपानी आएको छैन । सदरमुकामलाई लक्षित गरेर तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भईरहेको छ । सदरमुकाम चैनपुरमा पाईप विछयाउने काम भैरहेको र खानेपानीको पाईपको उचित व्यवस्थापन हुँन नसक्दा खानेपानीको समस्या भएको हो । लामो समय देखि धारामा खानेपानी नआउदा होटल व्यवसायि बढि मार्कामा परेका छन् । धारामा खानेपानी नआउदा सदरमुकामवासी बाउली खोला र सेती नदीको फोहोर पानी पिउन बाध्य छन् । धारामा पानी नआँउदा आफुहरुलाई सास्ती भएको एक होटल व्यवसायी हर्क बोहराले बताए । उनले भने लुगाकपडा धुन त जहिले पनि सेती र बाउलीखोला जान्थ्यौँ । अहिले त पिउने पानी पनि खोला बाटै ल्याउनु परेको छ । होटलमा आएका ग्राहकहरुलाई हातमुख धुन र चर्पीमा प्रयोग गर्नका लागी विहानै सबेरै उठेर पानी बोक्नुपर्छ । धारामा पानी नआउदा आफुलाई निकै समस्या भएको उनको भनाई छ ।
धारामा पानी नआउदा होटल व्यवसायी मात्र नभई, सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आएका र अध्ययनका लागि आएका विध्यार्थीहरुलाई निकै सास्ती भएको छ । सदरमुकाममा हरेक बर्ष खानेपानीको समस्या हुदै आएको छ । कोठामा पानी नआउदा विहानै उठेर पालैपालो सेतिनदीमा पानी ल्याउन जानुपर्ने बाध्यता भएको चैनपुरमा डेरागरी बस्दै आएकी सत्यवादी मा.वि भोपुरमा अध्ययनरत छात्रा निसा बोहोराको भनाई छ । उनले भनिन् अघिल्लो महिनामा सम्म त दिनमा एक आध घण्टा पानी आउथ्यो । दुई हप्ता भन्दा बढी भईसक्यो कसैले मतलब गरेका छैनन । आफुहरु महिनावारी भएको बेला झन समस्या हुने गरेको छ । सधै खोलामा गएर चिसो पानीले नुहाउन सकिदैन । यस्तो समयमा स्वास्थ्यको पनि ख्याल गर्नै पर्यो । सदरमुकाममा पानी नआउदा महिलाहरु बढी मार्कामा परेको उनको भनाई छ ।
सेती नदी र बाहुलीगाढ खोलाको दुषित पानी पिउँदा सदरमुकामवासीहरु विरामी हुन थालेका छन । फोहोर पानीका कारण जिल्ला अस्पतालमा पानीजन्य संक्रमणका बिरामीको संख्यामा बढदै गएको जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दीप ओखेडाले बताए । उनले भने सदरमुकाम क्षेत्रका मानिसहरुमा पछिल्लो समय मौसम परिवर्तन संगै स्वच्छ पानी पिउन नपाउँदा झाडापखाला, आँउ, ज्वरो, रुघाखोकी जस्ता विरामीको संख्या बढदै गएको छ ।
चैनपुर कुचा सडक निमार्णका क्रममा खानेपानीको पाईप काटिदा सदरमुकाममा खानेपानीको समस्या आएको चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए । उनले भने सदरमुकाममा दुईवटा मुहान बाट पानी आउछ । दुबै मुहान बाट आउने खानेपानीको लाइन तानीएकै ठाँउमा सडक निर्माण भइरहेका छ । हामीले कार्यालयबाट ३ जना कर्मचारी खटाएका छौ । तर काम गर्न समस्या भएको छ । खानेपानीको पाईप जडान भईरहेकाले अब केहि दिनमा यो समस्या समाधान हुने उनको भनाई छ ।