मकरराज धामी बझाङ निजी क्षेत्रको लगानीमा निर्माण भईरहेको सुदुरपश्चिम प्रदेशको सबै भन्दा ठूलो कालंगा जलविधुत आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । बझाङको बुङगल नगरपालिकामा निमार्णाधिन ६५ मेघावाट क्षमताको कालंगा जलविद्युत आयोजनाको ९० प्रतिशत निमार्ण कार्य सकिएको छ । झण्डै १० अर्व रुपैयाकोे लागत अनुमान गरिएको आयोजनाको ३८.४६ मेघावाटको अपर कालंगाको जलविधुत आयोजनाको ८.७ किलोमिटर, १५.३३ मेघावाटको कालंगा जलविधुत आयोजनाको ३.४ किलोमिटर र १०.०७ मेघावाट क्षमताको सानीगाड जलविधुत आयोजनाको २.९ किलोमिटर सुरुङ निमार्णको काम सकिएको छ । १५.३३ मेगावाट क्षमताको आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत गृह निर्माणको काम सकिएको छ । ९० प्रतिशत भन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले यहि चैतमा विद्युत् उत्पादनको तयारी गरेको छ ।
सन २०१७ देखि निमार्ण सुरु भएको आयोजनाले २०२० भित्रै काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । भुगोलले साथ नदिँदा निमार्ण कार्यमा ढिलाई भएको आयोजना कम्पनिले जनाएको छ । आयोजनाको पावर हाउस निमार्ण, बाँध, सुरुङ र पेनस्टक पाइप जडानको काम भईरहेकोे छ । टनेल निर्माणलाई अन्तिम रुप दिनुका साथै पावर हाउसमा विधुतिय उपकरण जडानको काम भईरहेकोले समग्रमा ९० प्रतिशत आयोजनाको काम सकिएको आयोजनाका प्रमुख पुष्प चित्रकारले बताए । उनले भने, ३८.४६ मेघावाटको अपरकालंगामा टनेल फिनिसिङको काम भईरहेको छ । १५.३३ मेघावाटको कालंगा जलविधुत आयोजनाको सबै काम सकिएको छ । अब यहि चैतमा परिक्षणको तयारीमा छौ । सन २०२० भित्रै निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि कोरोना महामारीले पारेको प्रभाव, भौगोलिक विकटता र वनसम्बन्धी कानून र झन्झटिलो प्रशासनिक प्रक्रियाले पनि आयोजना ढिलाई भएको हो । काममा ढिलाई हुँदा लागत पनि बढेको छ ।
सुदुरपश्चिम लगायत देशमा हजारौंको संख्यामा रोजगारी सिर्जना हुने र निमार्ण सम्पन्न भए पछि ३ सय ५० जना भन्दा बढी स्थानीयले रोजगारीको अवसर प्राप्त गर्ने छन् । यो आयोजनाले नेपालमा भैरहेको लोडसेटिङको समस्या कम गर्न सहयोग गर्ने अपेक्षा आयोजनाले लिएको छ । यो आयोजना सुदुरपश्चिमको विकासका लागी कोसेढुङ्गा सावित हुने कालंगा हाइड्रो प्रालीका संस्थापक विरेन्द्र मल्लले बताए । यस क्षेत्रमा विभिन्न उद्योगका लागी आवश्यक प्रसस्त कच्चा पर्दा छन । विधुत नहुँदा उद्योग स्थापना गर्न सकिएको छैन । यो आयोजना निमार्ण सम्पन्न भएसंगै विभिन्न उद्योग स्थापनाका लागी सम्भावना रहेकोले विभिन्न कलकारखाना तथा उद्योगहरु संचालनमा पनि यस आयोजनाले सहयोग पुग्ने छ । आयोजना निमार्ण सुरु भएसंगै यस क्षेत्रका युवाहरुले योग्यता र दक्षता अनुसारको रोजगार पाईरहेको छन् । हिजोका दिनमा रोजगारका लागी विदेशिने युवाहरु हाल यसै आयोजनामा काम गरि रहेको र यस आयोजनाले बझाङको मुहार फेरिने मल्लले बताएका छन ।
जलबिद्युत आयोजनाका निर्माणका लागी ७५ प्रतिशत बैकंहरुको लगानी र १५ प्रतिशत प्रतिष्ठत ब्यापारीको लगानी रहेको छ । निजि क्षेत्रको लगानीमा निमार्ण हुन लागेको यो प्रदेशकै सबै भन्दा ठुलो जलविद्युत आयोजना भएको आयोजनाको दावी रहेको छ । प्रक्रियामै समय लाग्ने भएकाले शेयर निष्काशनमा केही ढिलाई हुने जनाईएको छ । देशको राजनैतिक गतिरोध र आफ्नो पुजिको सुरक्षा नहुने भए पछि निजि क्षेत्र लगानी गर्न मानिरहेका छैन्न । निजि क्षेत्रको लगानीका विषयमा सरकारले एक पटक सोच्नु जरुरी छ ।