बैतडी बैतडीकाे डिलासैनी गाउँपालिका-३, पनसेरामा कांग्रेसले आयोजना गरेको सभामा ढुंगा प्रहार भएको छ । ढुंगा प्रहारबाट सभालाई सम्बोधन गर्न पुगेका केन्द्रीय सदस्य एनपी साउदसहित तीन जना घाइते भएका छन् । उनका अनुसार नेकपाको केपी शर्मा ओली समूहका कार्यकर्ताले कार्यक्रम बिथोल्न ढुंगा प्रहार गरेका हुन् । नेपाली कांग्रेसले बैतडीको डिलासैनी घटनाका दोषीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेको छ । कांग्रेसले कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेकपाका कार्यकर्ताबाट भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, बैतडीका सभापति नरेन्द्रजंग थापा, नेविसंघका पूर्वसभापति नैनसिंह महरलगायत सहभागी कार्यक्रममा भएको ढुंगामुढाबाट केही व्यक्ति घाइते भएको र केही सवारी साधनमा तोडफोडसमेत भएको बताएका छन् ।
कांग्रेसले प्रधानमन्त्री ओलीलाई सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी दिएको छ । ‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भूमिका खेलेको हाम्रो ठहर छ । यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिँदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।