बझाङ : पानकोटको झोलुङ्गे पुल केही दिनपछि हटाइने भएको छ । चैनपुर र गोलाई पडेश जोड्ने मोटरेबल पुल निर्माणको काममा अवरोध हुने भएकाले झोलुङ्गे पुल हटाइने भएको हो । ६९ मिटर लम्बाईको क्रस मोटरेबल पुलमा हाल ढलान गर्न र वारीपारी सडक कटान गरि लेबल मिलाउन बाँकी छ । आगामी चैत्र महिनासम्म पूर्ण रुपमा सञ्चालन ल्याउने तयारी निर्माण कम्पनी इलाइट कन्स्ट्रक्सनको छ ।
झोलुङ्गे पुल हटाइएपछि स्थानीयले विकल्पको रुपमा मोटरेबल पुल मुनी बनाइएको सानो पुलको प्रयोग गर्न सक्नेछन् ।
झन्डै ८ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको ६९ मिटर लम्बाईको पानकोट पुल यसै बर्षको चैत महिनामा सम्पन्न गर्ने गरी निमार्ण कम्पनी इलाइट कन्स्ट्रक्सनले हाल निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ ।
निमाणर्को जिम्मा पाएको ठेकेदार कम्पनीका प्रतिनिधि ठेकेदार कपिल राइले नगरप्रमुख विरेन्द्र खडकालाई यो विषयमा जानकारी गराएको र उक्त पुल चाँडै हटाइने बताए । उनले भने, ‘झोलुङ्गे पुलका कारण निमार्ण कार्यमा असहज भयो । हामीले हटाउदा स्थानियले काममा असहज गर्लान भन्ने डर छ । नगरप्रमुख विरेन्द्र खड्कालाई झोलुङ्गे पुल हटाउन अनुरोध गरेका छौ । उहाँले हटाउने काम गर्नुस् त्यसको खर्च नगरपालिकाले व्यहोर्छ । खर्चको हिसाब गरेर आफूलाई भेटन बोलाएका छौं । झोलुङगे पुल काट्यो भने पानीमा खस्ने र पानी जमेर खतरा बढ्ने भएकाले निकाल्ने कुरा गरेका छु ।’
निर्माण सम्पन्न भए पश्चात पानकोट पुल सेती नदीमा बन्ने पहिलो पुल हुनेछ । यो पुल बनेपछि बझाङको सेतीपारिका जयपृथ्वी नगरपालिका आधा बासिन्दा, मष्टा, तल्कोट, खप्तडछान्ना, थलारा गाउँपालिका र साईपालबासीले यातायातको सुविधा पाउनेछन् । सेती पारीका स्थानिय तहहरुमा सडक सञ्जालको पहुँच यसअघि नै भए पनि सेती नदीमा पक्की पुल नहुँदा यातायातका साधनहरु वारपार गर्न सकेका छैनन् ।
हिउँदमा सेती नदीमा पानी घटेपछि केही महिनाका लागि अस्थायी काठेपुल राखेर यातायातका साधनहरूले ओहोरदोहोर गरे पनि जेठ महिनामा काठे पुल बगाएपछि यातायातका सेवा प्रभावित हुने गरेका छन् ।