हजारको नयाँ नोटबारे जानकारी नहुँदा बझाङ प्रहरी चिप्लियाे, अनुसन्धान पछि भयो पछुताे

Image

बझाङ : बझाङ प्रहरीलाई हजारकाे नोटले झुक्काएको छ । हजारको नयाँ नोटबारे जानकारी नहुँदा बझाङ प्रहरी झुक्किएकाे हाे ।  नेपाल राष्ट्र बैंकले २०७७ साउन ७ गतेदेखि २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट बजारमा प्रचलनमा ल्याएको थियो । नयाँ विशेषता सहितको नयाँ नोट बजारमा पठाइए पनि बझाङमा भने उक्त नयाँ नोट खासै प्रचलनमा आएको छैन । पहिले एक हजारको नोटमा एउटा हात्ती हुने गरेकोमा अहिले नयाँ प्रचलनमा आएको नोटमा भने जुम्ल्याहा हात्ती रहेका छन् । बजारमा आएका नयाँ नोटहरुमा अन्य सुरक्षा विशेषता यथावत रहे पनि हात्तीको संख्या मात्र थपिएको हो ।

घटना के हो ?

जयपृथ्वी नगरपालिका-०९ चिउरी खान (चौड) बजारमा मंगलबार दुई जना अपरिचित व्यक्तिले एक पसलमा ६ सय ५५ रुपैंयाँको चाउचाउ, चिनी लगायत सामान किनेर एक हजारको नयाँ नोट दिए । त्यसमा दुईवटा हात्ति देखिएकाले पसलले नक्कली नोट हो भन्दै बझाङ प्रहरीलाई खबर गरे । खबर पाए लगत्तै प्रहरी आएर खाद्यान्न किन्ने दुवै जनालाई पक्राउ गरेर लग्यो । पक्राउ गरेको लगत्तै प्रहरीले नक्कली नोट सहित दुई जना पक्राउ भन्दै मुचुल्का गर्‍यो । त्यसपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढायो ।

नक्कली नाेट बारे प्रहरीले अनुसन्धानका क्रममा राष्ट्रिय वाणिज्य बैंकलाई जानकारी गरायो । बै‌कको जवाफ आएपछि प्रहरी झाँगा बाट खसे झै भयाे । त्यसपछि प्रहरीमा आफु झुक्किएको भनेर ठूलो पछुतो भयो । प्रहरीले नक्कली नोट हो भन्दै पक्राउ गरेकालाई केहीबेरमै छोड्न बाध्य भयो । यसरी नयाँ नोटबारे जानकारी नहुँदा आम सर्वसाधारण मात्रै होइन प्रहरी झुक्किएको बझाङका लागि यो पहिलो घटना हो ।

तत्कालीन् गभर्नर डा. चिरञ्जीवि नेपालकै पालामा यो नोट छपाइको कार्य भएकाले नयाँ नोटमा पनि नेपालको हस्ताक्षर छ । देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्तीको नाम ‘राम’ र ‘लक्ष्मण’ हो । उनीहरु अहिले पनि चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा जान प्रयोग गरिन्छन् । प्रायः हात्तीबाट जुम्ल्याहा बच्चा जन्मिनु दुर्लभ मानिन्छ । तिनै दुर्लभ हात्तीको फोटो हजारका नोटमा राखिएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्