मकरराज धामी, बझाङ – बझाङमा एक दशक पछि नियमित हवाइ सेवा सञ्चालन हुने भए पछि बझाङबासीको हवाईजहाज चढने सपना पुरा भएको छ । तत्कालिन समयमा शाही नेपाल वायुसेवा निगमले साप्ताहिक रूपमा उडान सुरु गरेको भए पनि २०६५ सालमा बझाङ सदरमुकाम चैनपुर सम्म सडकको सजह पहुँच भए संगै विमानस्थलमा कुनै पनि उडान भएका छैनन् । अब देखि समिट एयरले हप्ताको दुईदिन नियमित हवाई उडान गर्ने भएको छ । हवाई सेवा नियमित गर्न र विमानस्थलको स्तरोन्तीका लागी पटक–पटक दबाब दिए पछि नागरिक उड्डयन प्राधिकरणले २०७५ को साउन महिनामा विमानस्थल कालोपत्रेका लागि टेन्डर आह्वान गरेको थियो । विमानस्थल कालोपत्रेको निमार्ण कार्य सकिए संगै दशै अगावै हवाई सेवा सुचारु हुने भएको हो ।
विमानस्थल कालोपत्रे भएपछि एक साता अघि परिक्षण उडान गरेको समिट एयरले हप्ताको दुई दिन मंगलबार र शुक्रबार उडान सुरु गरेको समिट एयरका पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीले बताए । उनले भने असोज १७ गते परिक्षण उडान गरेका थियौँ । बझाङको विमानस्थलमा दुवै साईड बाट टेकअफ र ल्याण्डीङ गर्न सकिने भएकाले पहाडी जिल्लाका अरु विमानस्थल भन्दा निकै सुरक्षित छ । सुदुरपश्चिम प्रदेशमा धनगडी पछिको दोस्रो ठुलो विमानस्थल भएकाले उडानमा समस्या छैन । अब हवाईजहाज बाट यात्रा गर्दा धनगढी बाट २५ मिनेटमा बझाङ पुग्न सकिने छ । नेपाल नागरिक उड्यान प्राधिकरणले धनगढी बझाङको भाडादर ५ हजार ४८ रुपैंया तोकेको छ ।
एक दशक देखि बन्द रहेको हवाई सेवा पुनः सुचारु हुने भए पछि बझाङवासी खुसी भएका छन । लामो समय पछि विमान चढने बझाङवासीको सपना पुरा हुने भएको स्थानियको भनाई छ । हिउँदको समयमा जयपृथ्वी राजमार्गमा हिँउ जम्मा हुने र वर्षातका समयमा विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेका कारण यात्रुहरुले निकै सास्ती खेप्नु परेको थियो । अब नियमित हवाई सेवा सुरु हुने भए पछि यात्रा सहज हुने स्थानिय प्रविन्द्र धामीले बताए । सडक अवरुद्ध हुँदा आपतकालीन विरामीहरूले बाटोमै ज्यान गुमाउने गरेका छन । हवाई सेवा सुरु भए संगै सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्तिहरूले अकालमै ज्यान गुमाउन नपर्ने उनको भनाई छ ।
हवाई सेवा सुरु भए संगै जिल्लामा आउने पर्यटकहरूको संख्यामा पनि बृद्धि हुने पर्यटन व्यवसायि किसोर खडकाको भनाई छ । उनले भने बझाङको सडक यात्रा अत्यन्त कष्टपूर्ण छ । यात्रा कष्टपुर्ण हुँदा पर्यटकले बझाङ घुम्न जान नमान्ने अवस्था थियो । अब जिल्लाको साइपाल हिमाल, खप्तड राष्टिय« निकुञ्ज, सुर्मा ताल, कैलाश गुफा, कैलाश मानासरोबर लगायतका दर्जन भन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलहरूमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत बृद्धी हुनेछ । हवाई सेवा सुरु भए संगै आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न आउने भएकाले स्थानिय तहले पर्यटन विकासका कार्यक्रम ल्याउनु पर्छ । कैलासमानासरोवर जाने सबै भन्दा छोटो रुट पर्ने भएकाले स्थानिय तहले पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने उनको भनाई छ ।
दश बर्ष अघि सम्म केही समय निगम बाहेकका निजी विमान कम्पनीहरूले पनि बझाङ बाट नेपालगन्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । अब देखि धनगडी बेस बनाएर हवाई सेवा सुचारु हुने भए पछि अन्य विमान कम्पनिहरुले पनि उडान भर्ने अबस्था सिर्जना भएको जानकारहरुको भनाई छ । यसअघि बझाङ बाट नेपालगन्ज जाने यात्रुको चाप घट्न थालेपछि निजी विमान कम्पनीहरूले पनि उडान रद्द गरेका थिए ।