बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता दायर भएको छ। नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री रमेशसिंह भण्डारीले अध्यक्ष चन्दविरुद्ध शुक्रबार जिल्ला अदालत बैतडीमा मुद्दा दायर गरेका हुन्। गाउँपालिकाबाट विभिन्न सूचना माग गर्दा अध्यक्ष चन्दले फेसबुकमार्फत गाली बेइज्जती गरेको भन्दै भण्डारीले अदालतमा मुद्दा दर्ता गरेका हुन्। जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनकसिंह बोहराका अनुसार अध्यक्ष चन्दलाई म्याद बुझाउन अदालतले कर्मचारी खटाउने र म्याद बुझेको ३६ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने श्रेष्तेदार बोहराले जानकारी दिए।
उनले भने, ‘अध्यक्ष चन्दविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ। अब म्याद बुझाउन कर्मचारी खटाइन्छ। त्यसपछि २१ दिनभित्र र थप १५ दिन अरु गरेर ३६ दिनभित्र अध्यक्ष चन्दले अदालतमा उपस्थित हुनुपर्छ।’ सुरुमा अदालतमा उपस्थित हुने २१ दिन म्याद हुने र थप १५ दिन गरेर ३६ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ। यसअघि गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले रेडक्रसका मन्त्री भण्डारीले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै जिल्ला प्रशासनमा कारबाहीका लागि निवेदन दिएका थिए।