बेवारिसे बन्दै लाखाैकाे लगानीमा बनेको डोब्रा सामुदायिक अस्पताल
बझाङ : छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ मा रहेको डोब्रा सामुदायिक अस्पताल संरक्षण अभावमा जिर्ण बन्दै गएको छ । २०६६–०६७ सालमा करिब ७५ लाखमा निर्माण भएको उक्त सामुदायिक अस्पतालको संरक्षणमा लगानीकर्ता र स्थानीय तहको ध्यान नपुग्दा जिर्ण बन्दै गएको हो । जिल्लाको रेफ्रल अस्पतालका रुपमा विकास गर्ने लक्ष्य भए पनि कसैले अस्पताल विकासमा ध्यान नदिदा अस्पताल जिर्ण बन्दै गएको तत्कालिन् छबिस ग्रामिण चेतनालय(प्यारेन्टस नेपाल) का कार्यकारी सचिव धनबहादुर रावलले बताए । जिल्लाकै दोस्रो सुविधा सम्पन्न अस्पतालमा कर्मचारी अभावमा पाँच वर्षदेखि बन्द भएको छ । आफुहरुले जिल्ला र केन्द्र स्तरमा अस्पताल संचालनका लागि पटक–पटक पहल गरे पनि कतैबाट वास्ता नगरिएको पछि आफूहरुले सहयोगको लागि पहल गर्नै छोडेको उनले बताए ।
अस्पताल बन्द भएपछि छविस पाथिभेरा र दुर्गाथली गाउँपालिका क्षेत्रका साविकका आठ गाविसका बासिन्दालाई सामान्य उपचारका लागि सदरमुकाम र बाहिरी जिल्ला धाउनु पर्ने बाध्यता रहेको र आपतकालिन उपचार नपाएर कतिपयले ज्यान गुमाइ सकेको उनले बताए । अस्पताल बन्द भएपछि झण्डै एक करोडभन्दा बढी मुल्यका संरचना र उपकरणहरु समेत तोडफोड भएर काम नलाग्ने अवस्थामा पुगेका छन् । साबिकको मटेला गाविसको जिउली गाउँस्थित डोब्रा सामुदायिक अस्पताल बेवारिसे भएपछि भवनका झ्याल ढोकाहरु तोडफोड भएका छन् ।
अस्पतालभित्र रहेका उपकरणहरुमा पनि क्षति पुगेको छ । अस्पतालमा रहेका उपकरणहरु लाखौं मुल्य पर्ने एक्सरे मेसिन, जेनेरेटर, बेड, टेबुल, कुर्षी, उपचारका औजारहरु खिया लाग्ने अवस्थामा छन् । बचेको औसधी पनि सडेको छ । कोठाभित्रका फर्निचर र उपकरणहरु धुलाम्मे छन् । झट्ट हेर्दा अस्पताल कवाडी भण्डार जस्तो देखिन्छ । भाडेबगर(जयपृथ्वी नगर सडक खन्दा डोजरले अस्पतालको आगनको डिल ताछेपछि अस्पतालका ४ वटामध्ये एउटा भवन चर्किएर भत्किनै लागेको छ भने दुईवटा अरु भवन पनि जोखिममा छन् । ‘केटाकेटी र गोठालाहरुको खेल्ने ठाउँ भएको छ । स्थानीय शान्ति रेग्मीले भनिन्– ‘जसले जे गरे पनि कसैलाई मतलब छैन । हुँदा हुँदा घर पनि काम नलाग्ने भइसक्यो ।’ स्थानीय स्तरमा गुणस्तरीय सेवा दिइरहेको अस्पताल हेर्दाहेर्दे खतम भएको उनले बताइन् ।